भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मन उर्वर माटो हो / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:21, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मन उर्वर माटो हो
खनीखोस्री गर
सम्याऊ स्नेह जल सिञ्चन गर
इच्छानुसार बीउको छनोट गर
सोचेअनुसार चेतनाको बुनोट गर
कलिलो मन उर्वर माटो हो
तिमी जे चाहन्छौ त्यही रोप ।

कपट र हृदयहीनता रोप
स्वार्थ र अमानवीयता रोप
पैतालाभरिभरि विनास बोकेर
कहिल्यै ननिभ्ने
डढेलोजस्तो सर्वनास बोकेर
त्यहाँ चङ्गेज खाँ जन्मन्छ
हिटलर हुर्कन्छ
र युद्धको दुर्गन्ध फैलन्छ
विवेक र मानवता रोप
प्रेम र सद्भाव रोप
त्यहाँ हत्केलाभरि–भरि
बोधिवृक्ष बोकेर
जनक जन्मन्छ, बुद्ध हुर्कन्छ
र शान्तिको सुगन्ध बर्सन्छ
बीउको चयन तिमी नै गर
कलिलो मन उर्वर माटो हो
विषवृक्ष या बोधिवृक्ष रोप
जे रोप्न चाहन्छौ त्यही रोप ।

तर नबिर्स मित्र
फुल्न पनि रोपेजस्तै फुल्छ
फल्न पनि त रोपेजस्तै फल्छ
सिस्नो रोपेर गुलाफ फुल्दैन
तितेझार रोपेर सतिसाल हुर्कँदैन
फुल्दैन फुल्दैन चमेली
काउछोका लहराहरूमा
हुर्कँदैन विवेक र सहिष्णुता
राक्षसी प्रवृत्तिहरूमा
मस्तिष्कमा उभ्याएर
विराट् भविष्यलाई
बीउको चयन तिमी नै गर
कलिलो मन उर्वर माटो हो
जे रोप्न चाहन्छौ त्यही रोप ।

तिमी प्रिय या अप्रिय
जेसुकै हुन सक्छौ
आफूले बाँझो फुटाउँदै गरेको धर्तीमा
नङ्ग्राहरू खियाउँदै, सम्याउँदै
श्रमका पसिनाहरू बगाउँदै
भिजाउँदै गरेको माटामा
कृपया युद्ध नरोप
विस्फोटन नरोप
हिंसाका च्याम्बरहरू नरोप
प्रेम रोप, करूणा रोप
सद्भाव र विश्वबन्धुत्व रोप
कलिलो मन उर्वर माटो हो
सुन्दरताको अद्वितीय उपमा रोप
अनि मानवताको अनुपम उदाहरण रोप
कलिलो मन उर्वर माटो हो
जे रोप्न चाहन्छौ त्यही रोप ।