भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अचेत केही लाइलाक्‌हरू : केही मैनबत्तीहरू / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हरेक क्षणमा रुकिदिन्छ यो बैँस
म चिन्दिनँ यी लाइलाक्‌का फूलहरूलाई,
म उन्न सक्दिनँ इँटहरूमा पुराना लास्काक्स,
दिमागलाई छुन लाएर पवित्र कुमारी गर्भवतीहरू हो !
ती बालकहरू त्यहाँ पर्खदै छन् प्रवेश गर्न
म बुझ्दिनँ यो रुरिटानिया नगर
जतासुकै निर्मम लिपिएर छ ।
पर्दै टाटासरि भित्तामा भित्तामा लास्काक्समा अजनेतमा
(शायद मलाई सम्झना भइरहेछ-
यसबखत प्रिजन अफ जेन्डा)
लाइलाक्‌हरू तिमी गर्भवती भएर समेत
घुसार्दैनौ वेणीमा पवित्र गर्भवतीहरू हो
सकिसक्यो कम्प्युटरले हिसाब जोड्दै-घटाउँदै
मानिसको आवश्यकता
त्यो ता कैद भइसकेको थियो ।
मानिसले गर्छ गल्ती फेरि सुधार्छ भूल गर्छ,
पाता-पातामा र इतिहासमा फिजाउँदै आफैँलाई,
युक्लिड आर्किमिडिस् ।
उँचो शिखर बेँसीदेखि उभिदिएर सबभन्दा धेरै ओलम्पिया
(ओफेलिया याद आई
  र छेवैबाट बलेको मैनबत्ती बग्यो )
नितान्त उदासीन हेर्छु रेलिङमा उब्जँदै मानिस उम्रेको,
बरु, त्यही छाप्रो नै प्रिय थियो जहाँ आँसुको वर्षा थिएन
बरु, त्यही स्थिति नै उत्तम थियो
जहाँ यस्तरी पसीना थिएन !
(मलाई हेर्ने आँखाले यसलाई पनि त हेरिदेऊ कि)
यहाँ मानिसले आफूलाई सपार्ने निहुँमा कस्तरी बिगारेको छ,
यहाँ मानिसले संसारलाई सिँगार्ने निहुँमा कस्तरी चिथोरेको छ
यहाँ पूर्ण भई जन्मेको मानिस अपूर्ण भई यस्तरी बाँचेको छ
यहाँ अपूर्ण भई बाँचेको मानिस
यस्तरी मरिदिएको छ ।

मायालु
हृदय कुनै रेष्टहाउस होइन
खोप्नु हुन्न है यस्तरी जथाभावी
रगत आउँछ भनेर जान्दाजान्दै ।
प्रेम त यहाँ एक कप कफी मात्र
दूध र चिनीको सम्मिश्रण
केवल स्वाद निम्ति, केवल थकाइको मेटाइ !
प्रेम यहाँ एक कप कफी मात्र
कस्तरी जिन्दगीलाई बाँच्न खोजेका यी मानिस
कस्तरी जीवनलाई साँच्न खोजेका यी मानिस
फस्किरहेछन् बादलका गाँठा जस्तै
बादलका यी गाँठाहरू
(पृथ्वीमा ओर्लनअघि नै)
आकाशको आँखामा लुक्न चाहे जस्तै
आफूलाई भुल्न चाहेजस्तै
म एक छिन भुल्न चाहन्छु
तिम्रा आँखामा लुक्न चाहन्छु
म लुकाउन चाहन्छु आफूलाई ।

केही टाँस्सिएको छैन, केही उप्किएको छैन,
अबोला छ समय शुरु छैन,
सहयोग पुगेन मेरो म अस्तित्वहीन छु बालक जन्मियो
अनायास शुरु भयो ऊ जन्मिदिएर
(छेवैबाट बग्यो मैनबत्ती बलेर)
भैँचम्पा हो यो फूल सुनाखरी हो !
यो फूल जाई औँलामा थिचिएर चुहिन्छ ।
पानी भिजाएर धरतीलाई बाँझो होइन्छ
जेउस ! केही भयो र तेरो जरुरत परेन, केही शूरु भयो
मेरो र तेरो सहयोगबिना नै केही शुरु भयो ।
भित्र लाइलाक् जन्मिदियो बालक शुरु हुन केही नआओस्
(उसले दुई बाल्टी पानी ल्याइसकी
भूइँमा जुका सक्सकाई सर्छ रगत थुतेर)
युक्लिडको एकजियम बूढो युक्लिप्टस्
बाटाका दुई किनारामा उभिन्छन् मेरा बग्गीहरूसित
(मलाई सम्झना आउँदैन म कहाँ जाँदैछु, जाँदैछु)
मरञ्चयाँसे बूढो युगझैँ बाँच्छ, आङ कन्याउँदै आङभरि
'म मरिसकेको छु' भन्यो, धेरै फेर म मरिसकेको छु, उसले भन्यो ।
रातको चौरास्तामा उभिँदै सालिकमा
सान्ताक्लुज आएन त्यो मानिस बाँड्न क्रिसमस रातमा
तर आइसकेका रहेछन् प्वाँख-प्वाँखमा रेलिँदै नानीहरू
हरेक निर्मम क्रिसमस क्रुसमा झुण्डाऊ मानिसलाई बाँधेर
आउँछन् नानीहरू शुरु भएर मलाई थाप्न, मलाई थाप्न
ढुङ्गा हानेर जियाउन एक बगाई पानीलाई एकरसता मात्र
चिनो लगाउन सके सक्यो मलाई थाम्न मानिसले ।
अनुहार हेरुँ च्यातिएको छ ।
कठ्याङ्ग्रे खुचिन्छ पाखुरा उचाल्दै उचाइ र पोल्टासित,
म सान्ताक्लुज अँध्यारो रात बाँड्छु-
म क्रिसमस बाँड्छु, कोही छैन तर आओ नानीहरू !
(म अजन्तामा पसिरहेछु, आँखा थिचेर)
उचालिसकेको छु सबै आकाशमा ब्यूँझाउँदै छालामा पानी,
म चिच्याउँछु किन अनुबन्धित छु ब्रेकेटमा परेर वाक्य
म किन उम्किदिनँ धरातलले
(म शरीरमा छु,
शायद बाँचिरहेको छु)
परीक्षा गर मलाई ओल्टाउँदै अझै ओल्टाउदै चपरी
परीक्षा गर मलाई कागज पेन्सिल लेख्दै आयुले
नाङ्गो छु मानिस जत्तिकै त्यो पहिलेको
लम्पसार छु दिक्‌मा दिशा उकुसमुकुसिएर ब्युँझँदै,
(एउटी सिङ्गो जीउ सुत्छ मसित
फरिया खोलेर जम्मै)
एक्जियम् मेरो अस्तित्वमा ऐना निहुराई टाँसिन्छ,
ए अल्छे, ए मानिस, ए एक्लो मानिस !
हाइड्राका थुप्रा टाउकाहरू काटिदिन सक्छस् भने काट्
टाउकोमा त्यो जिउँछ शुण्ड-मुशुण्ड,
रक्तबीजले हुर्किन्छन् टाउकाहरू सडकका चेप्टाइभरि
अनुहार चुहाउँदै,
आँखाहरू, मासुहरू, रगतहरू, उसका
म केही हातहरूले सुम्सुम्याउँछु, चल्मलाउँछु, उसलाई थुनेर थुतुनामा,
(देखेझैँ लाग्छ खालि फ्राक, सुकेर
खिड्कीमा चल्छ
साँच्चै नै देखिरहेछु उसलाई आँखाभित्र
लिलाक् ओसार्दै वरपर, वरपर, भएर गुलुपमा)
पहाड बूढो भइसकिस् म तँलाई भोग्छु,
क्लियोपेट्रा, एन्टोनीको काखमा म पिउँदछु तेरो शरीर,
पार्वतीलाई महादेवसित झैँ
मेरो पनि त स्वास्नी छ, म उसलाई आलै चपाउँदै छु ।
म निरुद्देश्य छु, केवल निरुद्देश्य ईश्वरमा आफैँ उम्रेर-
म मर्छु निरुद्देश्य, मलाई गोलीले हिर्काऊ म जिउन सकूँ
सबै सापेक्षले म निरुपेक्ष छु
हरेक क्षण यहीँ छु
जहाँबाट पनि म यहीँ छु
म यहीँबाहेक कहीँ छैन
म यहीँ छु, खालि यहीँ छु !
(तैपनि बिहान भैरहेछ, दिन भैरहेछ, युग भइरहेछ,
गैरहेछ वर्तमानमा)
त्यहाँ नजाऊ, पुगुञ्जेल हराइसक्छ,
नपुग, पुरानो भइसक्छ, एक बिटा जीवन उम्किसक्छ ।
यहीँ कति वर्तमान छ, वर्तमानमा पस, म उनिन्छु ।
आँखा चुहिएलान् मेरा युगहरूबाट,
म जे हुँ, त्योबाहेक केही भएको छैन
म जहाँ छु, त्यहाँबाहेक केही भएको छैन
म जसरी छु, त्यसरीबाहेक अरू केही भएको छैन,
(चौरस्ता गल्लीहरू ऋद्धि सडकहरूले
उभिन्छु, उभिएको देखिन्छु)
अर्थरहित
अर्थहीन (केवल त्यो आँखा जस्तो)
जिइदिन्छ वर्तमानलाई वर्तमानले
अल्झिन्छ बल्छीमा आहारा माछा खोज्दै, हात पाखुराहरू
आकाश बाँध्दै खाँबामा कहाँ जान्छ त्यो धामी सखारै
रक्सी पिउन,
नबगे जहाजलई अङ्कुशभित्र,
जेनो इम्पिक्युरिससित थुनिदिइरहेछौँ मध्याह्नमा
मुठ्ठी पारेर आकाशलाई
नित्से मरिसक्यो, ईश्वर हिजो मर्यो
ओहोरदोहोर गरेझैँ
(त्यो छँदै थिएन के मरोस्,
मर्नलाई हुनुपर्छ)
त्यसकारण म छु, म यही सोच्छु
डेकार्टलाई बोलाएर
साँच्चै नै त्यो डेकार्ट कहाँ गयो लाइलाक अल्झाउँदै,
सान्ताक्लुजका नानीहरू खोज
मेरा हत्केलासम्म घिसारेर म तँलाई जाँच्छु,
उचालिन्छ एक छाल धरातलदेखिन् अचेल मदेखिन्
कति असंलग्न छु हेर
बकैनाका पातहरू छुँदैनन् मेरा स्पर्शलाई
जे पेन्स डाँ जे सुई
(म अचेल, आराम गर्न प्रशस्त खोज्छु)
म जिउन खोज्छु
म चाहन्छु, मलाई क्रूसीफाई गर काठमा, म जिउन खोज्छु
धरती उभ्याएर मभरि, म भित्रभरि,
(क्राइष्टले टाँसिएको हेर्न रुच्छ
यस शताब्दीमा जिएर)
म भित्रभरि जिउन खोजिरहेछु म
डाइनोसोर उभिसक्यो पानी डुबेर,
सृष्टि भइसक्यो अनुहार, अनुहार र अनुहारभित्र
म झन् नितान्त द्रष्टा !
एउटा मैनबत्ती बग्यो तैपनि म नितान्त द्रष्टा !
त्यहाँ कोही छैन, केही छैन, मलाई प्रभावित गर ।
(मलाई केही जादू गर)