अमेरिका / एलेन गिन्सबर्ग / सुमन पोखरेल
अमेरिका, मैले सबैथोक तिमीलाई दिएँ र आफू रित्तो भएँ
अमेरिका, दुई डलर र सात्ताइस सेन्ट
जनवरी सत्र
उन्नाइस सय छप्पन्न।
मलाई आफ्नै मथिङ्गल गर्हौँ भइरहेछ।
अमेरिका, हामी मानवीय युद्धलाई कहिले विसर्जन गर्नेछौँ?
लु भयो, तिम्रो एटम बमसँग तिमी आफैँ पोइल जाऊ।
मलाई ठीक लागेको छैन, दु:ख नदेऊ मलाई।
मेरो दिमाग ठीक ठाउँमा नआउन्जेल कविता लेख्दिनँ म।
अमेरिका, तिमी कहिले देवदूतझैँ हुनेछौ?
कहिले तिमी फुकाल्नेछौ आफ्ना लुगा?
कहिले हेर्नेछौ तिमी आफूलाई चिहानबाट?
तिमी आफ्ना लाखौँ ट्राटस्किबाट कहिले चिनिनेछौ?
अमेरिका, तिम्रा पुस्तकालयहरू किन आँशुमा डुबेका छन्?
अमेरिका, तिमी आफ्ना अण्डाहरू कहिलेदेखि इन्डिया पठाउनेछौ?
म तिम्रा नचाहिँदा जिद्दीबाट दिक्क भइसकेँ।
सुपरमार्केटमा गएर आफूलाई चाहिएका चिज
कहिले उज्यालो अनुहारले किन्न सक्छु म?
अमेरिका, पूर्ण भनेको आखिर तिमी र म नै हौँ,
बाँकी विश्व होइन।
तिम्रा यन्त्रहरूका टन्टाघन्टा मलाई वाहियात लाग्न थालिसके।
तिमीले गर्दा मलाई जोगी हुन मन लाग्दैछ।
यस अर्घेल्याइँलाई साम्य पार्ने अरू कुरा पनि पक्कै छन्।
टेन्जियर्समा छ बरोग,
ऊ आफ्नो अलच्छिन बोकेर फर्कनेछ भन्ने लाग्दैन मलाई।
तिमी अलच्छिन हुँदैछौ वा यो कुनै ठूलै ठट्टा हो?
गाँठ्ठी कुरो भन्न खोज्दैछु म,
म मेरो अम्मल छोड्न अस्वीकार गर्छु।
अमेरिका,
घचेट्न छोड, म के गर्दैछु भन्ने मलाई राम्ररी थाह छ।
अमेरिका, गर्विला छातीहरू रित्तिँदैछन्।
महिनौँ भयो मैले कुनै पत्रिका नपढेको,
हरेक दिन कोही न कोही हत्याको अभियोग बोकेर कठघरामा उभिइरहेछ।
अमेरिका, म यो अस्थिरता देखेर भावुक हुँदैछु
अमेरिका, म केटाकेटी छँदा कम्युनिस्ट थिएँ।
यसमा मलाई दु:ख लाग्दैन।
म भेटेपिच्छे गाँजा तान्छु।
म कयौँ दिन घरबाट निस्कन्न र टोलाएर गुलाफका फूललाई हेरिरहन्छु।
म चाइना बजार गएपिच्छै बेस्सरी मात्दछु, तर कहिल्यै ढल्दिनँ।
मेरो दिमागको बनोट नै आपत निम्त्याउने खालको छ।
मलाई मार्क्स पढ्दै गरेको देखेको हुनुपर्छ तिमीले।
मानसिक रोग हेर्ने मेरो डाक्टर मलाई केही भएको छैन भन्छ।
म कहिल्यै कुनै पूजापाठ गर्दिनँ।
मेरो दृष्टि ईश्वरीय तरङ्गले निसृत र आध्यात्मिक छ।
अमेरिका, मैले अझै भनेकै छैन, तिमीले रुसबाट फर्किएका मेक्स काकालाई के गर्यौ भनेर।
म तिमीलाई सम्बोधन गर्दैछु।
के तिमीले आफ्नो भावनात्मक जीवन चलाउने जिम्मा टाइम्स पत्रिकालाई दिइसकेका हौ?
टाइम्स पत्रिकाले मलाई दास बनाएको छ।
हरेक हप्ता पढ्ने गर्छु म यसलाई
म चाल मारेर कुनाको किराना पसलतिर जाँदा पनि यसको आवरणले मलाई एकटकले हेरिरहन्छ,
बर्कली सार्वजनिक पुस्तकालयको छिँडीमा बसेर पढ्ने गर्छु म यसलाई।
यो सँधै दायित्वहरू सुनाइरहन्छ मलाई-
व्यापारीहरू सम्वेदनशील छन्,
सिनेमा बनाउनेहरू चिन्तित छन्,
हरेक मान्छे आ-आफ्ना काममा लागिपरेका छन् मबाहेक।
यसले गर्दा म नै अमेरिका हुँ जस्तो लाग्छ, मलाई।
एऽऽऽ म त फेरि आफैँसँग पो कुरा गर्न थालेँछु।
एसिया मलाई पछार्न लागिपरेको छ।
चिनियाँहरूको जस्तो मौका कहिल्यै पाइनँ मैले।
मैले मेरो राष्ट्रका सम्पतिहरूको ख्याल गरेको भए ठीक हुनेथ्यो।
मेरो राष्ट्रिय सम्पति भनेको
गाँजाका दुई सर्का, लाखौँ यौनाङ्गहरू,
प्रकाशित गर्न नमिल्ने प्रति घन्टा चौध सय माइलको गतिमा कुद्ने व्यक्तिगत साहित्य
र पच्चीस हजार मानसिक संस्थाहरूको एकमुष्ठ सँगालो हो।
मेरा जेलहरूका बारेमा केही भन्दिनँ म ,
न त पाँच सय सूर्यको प्रकाशमुनि अवसरबाट वञ्चित मेरा गमलामा बाँच्ने लाखौँहरूका बारेमा केही बोल्नेछु।
मैले फ्रान्सका वेश्यालयहरू भत्काइसकेको छु,
अब पालो तान्जियरहरूको छ।
राष्ट्रपति हुने महत्वाकाङ्क्षा छ मेरो,
आफू एउटा क्याथोलिक नै भए पनि।
अमेरिका,
म तिम्रो मूर्खताभित्र बाँचेर कसरी कुनै पवित्र श्लोक लेख्न सक्छु?
म हेनरी फोर्डको झैँ गरिरहने छु,
मेरा कविताका पदावलीहरू उनका मोटरहरूझैँ एक्लाएक्लै पूर्ण छन्
अझ भन्छौ भने तिनीहरू प्रत्येक अलगअलग लिङ्गका छन्।
अमेरिका,
म तिमीलाई कविताका पदावलीहरू गोटाको पच्चीस सय डलरमा बेच्नेछु
तिम्रा पुराना कवितासँग साट्छौ भने
त्यसमा पाँच सय डलर छुट दिनेछु।
अमेरिका, टोम मुनेलाई छाड्देऊ
अमेरिका, स्पेनी उदारवादीलाई जोगाऊ
अमेरिका, साक्को र भेन्जेट्टीले कसै गरी मर्नु हुँदैन
अमेरिका, स्कटबोरो ब्वाइज मै हुँ।
अमेरिका, म सात वर्षको छँदा
आमाले मलाई कम्यूनिस्टहरूको गोप्य मिटिङ्मा लैजानु भएको थियो।
तिनीहरूले एउटा टिकट बापत हामीलाई एक अञ्जुली चना बेचेका थिए,
एउटा टिकटलाई पाँच सेन्ट पर्थ्यो
र भाषण चाँहि सित्तैमा सुन्न पाइन्थ्यो।
त्यहाँ भएका सबै स्वर्गबाट आएकाजस्ता कुरा गर्थे
र कामदारहरू प्रति संवेदनशील भएजस्ता लाग्थे
त्यो सार्है गम्भीर मिटिङ् थियो।
अठार सय पैँतीसमा त्यो पार्टी कति राम्रो थियो भन्ने तिमीलाई थाहै छैन!
स्कट नियरिङ साँच्चैका भद्र बुढामान्छे थिए,
मदर ब्लोरको कुरा सुनेर म रोएको थिएँ,
मैले एकपल्ट इज्राइल अम्तेरलाई पनि देख्न पाएँ,
हरेक व्यक्ति जासुस हुनैपर्थ्यो।
अमेरिका, तिमी त युद्ध चाहँदै चाहँदैनौ।
अमेरिका, लँडाई चाहने त ती फटाहा रुसीहरू हुन्।
ती रुसीहरू, ती रुसीहरू र ती चिनियाँहरू।
र ती रुसीहरू।
रूस हामीलाई जिउँदै खान उद्दत छ।
रूस शक्तिशाली हुन बौलाहाझैँ लागिपरेको छ।
ऊ हाम्रा ग्यारेजबाट हाम्रा कारहरू लान खोज्दैछ।
शिकागो कब्जा गर्न खोज्दैछ ऊ।
उसलाई एउटा लाल रिडर्स डाइजेस्ट चाहिएको छ।
ऊ हाम्रा मोटर बनाउने फ्याक्ट्रीहरूलाई साइबेरियामा सार्न चाहन्छ।
उसको महाकाय कर्मचारीतन्त्रले हाम्रो भावनाको केन्द्रलाई सञ्चालन गरिरहेछ।
यस्तो हुनु ठीक हैन,
उफ्!
त्यसले इन्डियनहरूलाई पढ्न सिकाउने भो’।
त्यसलाई बलिया काला हब्सीहरू चाहिएको छ।
त्यसले हामी सबैलाई दिनको सोर्ह घन्टा काम गर्न बाध्य बनाउने भो’।
गुहार!
मलाई जोगाऊ !
अमेरिका, यो निक्कै गम्भीर कुरो हो।
अमेरिका,
मैले टेलिभिजन हेरिरहेर आजसम्ममा बुझेको कुरो यही हो।
अमेरिका, के यो कुरो साँचो हो?
गाँठी कुरो नलुकाई भनिहाल्नु नै ठीक होला।
हो, म सेनामा भर्ती हुन चाहन्नँ,
फ्याक्टरीमा मेसिन चलाउने काम गर्न पनि सक्दिनँ।
मेरा आँखा कमजोर छन्, टाढाको देख्दिनँ
र उसै पनि मनोरोगी त छँदैँछु!
अमेरिका, म कम्मर कस्दैछु।