भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अर्काको ऐना / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केही भाँचिदिएका छन्
केही भाँचिदिने र त्यसलाई कतै फेकिदिने तर्खर
– पनि भएको छ
तैपनि हामी कतै नेपाली हौँ,
आफैले भाँचिदिएको स्वरुपको पनि माया गर्छौं,
र भन्छौं – यो हामीले चाहेर भाँचेको होइन, परिस्थिति त्यस्तै पर्यो
भाँचिदियौं,
अनि बोलाउँछौं, कसैलाई,
यो भाँचिएको बनाइदेओ,
हामीले रछानमा फेकिसकेका छौं, चाहिने कुराहरु
ती रछानहरुबाट पनि उठाइदेओ ।

हामी नेपालीहरुले
मन्दिरका मूर्तिहरू फ़ेकिदिइसकेका छौं
अरुका प्रदर्शन कक्षमा,
अब हामीलाई हाम्रो अनुहार हेर्न –
– अर्काको ऐना आवश्यक भैसक्यो ।

हाम्रो आफ्नै चेहरा आफैले टुक्रा-टुक्रा पारिदिएका छौं,
तिनमा जुनबेला अनुहार खोज्छौं,
– ती टुक्रिएका चौटाहरुमा भिन्दाभिन्दै अनुहार देख्छौं,
यसबेला कसैले बोलेन नभन्नु, मेरा नेपालीहरु हो,
– मैले त भनिरहेको छु,
– भन्न खोजिरहेको छु,
यसबेला किन कुनै नेपाली मौन भयो, नभन्नु,
– मैले त मुखर हुने
प्रयत्न गरिरहेको छु,
मेरै सहोदरले मेरो थुन्छ दुख – परिस्थिति
मेरै अनुहारले मलाई अर्को रुप प्रदर्शित गर्छ
– परिस्थिति
परिस्थिति सडकमा सुतेर भोक लाग्यो भनी कराउने
– ती ढुंगाहरुभन्दा
अग्लो भैसक्यो ।

परिस्थिति, बिकी सक्यो,
हामी त बिक्यौँ,
हामीलाई अर्काको पैसाले, किनिसक्यो ।
एउटा बक्सामा बन्द गरिदिए पनि हुने,
एउटा कुनै उपायले समुद्रपार लगिदिए पनि हुने,
एउटा कुनै मेरै आफन्तले बेचिदिए पनि हुने परिस्थिति नितांत नचाहिंदो आडम्बरको भाषा भैसक्यो ।
हामीलाई कसैले कतै लागिसक्यो ।

नभन्नू, यो व्यक्ति आखिर विरोधी हो,
– विरोधी त हाम्रो संस्कृति भैसक्यो ।

हामीले फूल फुलाउन चाहेका हौँ, फूल्यो फूल पनि
तर त्यो फूल, नेपाली हातले नै अर्काको,
बगैंचामा तिम्रो भनेर दिइसक्यो
नभन्नू, यो आकाश पनि मेरो हो
यो आकाश जहाँ म मेरो तारा हेर्थें
त्यो अर्काको तारा भैसक्यो ।

नभन्नू, आगोका गीत मात्रै गायो कुनै व्यक्तिले
आफ्नो फूल कतै झरिसक्यो
विश्वासका अनेकौं तातो अंगेनाहरुमा
तातोपन छैन,
आस्थाका अनेकौं नदीहरुमा त्यो सुन्दर ध्वनि
– पनि छैन
भए पनि त्यो आफ्नो भएन,
यी उत्सव र जुलुसहरु हामी खुशियाली गाउँथ्यौं ।

– त्यो स्वर आफ्नो भएन,
आज हातका गाँसहरु खोसिन्छन्,
आज आँखाका पानीहरु, लुछिन्छन्
नभोकाउनू रे कसैले भोकाएं पनि नभन्नू
हिमाल र खोला चाटेर बस्नू
खुसीमा पानी नझार्नू रे, कसैले
कहिले कहीं हिमाल हेरेर त्यसै खुसी लागे पनि
खुसी नहुनु कसैले
तँ नेपालको ठूलो कवि, गौरव छ नेपाललाई
भन्ला कुनै नेपलीजस्तोले
ठान्नू, त्यसपछि सडकमा फ़ेकिएको हुन्छ, भोकले मर्नू , त्यो मानिस
तँ नेपालको ठूलो विभूति – भने कसैले, डराउनु
निश्चय नै त्यो विभूति कुनै नालीमा लडिरहेको हुन्छ
– उसलाई त्यहाँ जबरदस्ती त्यस व्यक्तिले
– फ़ेकिदिएको हुन्छ ।

यहाँ त एक खुराक हसिसले – धेरै कुरा गरेको हुन्छ,
एक खुराक हसिसको संबन्ध,
एक खुराक राजनीति र माथि र तलसित
– हुन्छ
म त कहिले बिहान उदाएको सूर्य हेर्थें
भन्थें, यो नेपालको सूर्य हो
यसको नेपालको पूर्व हो – जहाँ ऊ आउँछ
यसको नेपालको पश्चिम हो जहाँ ऊ अस्ताउँछ
होइन भनूँ सूर्य उदाउँछ अस्ताउँछ, मेरो माथि
हो भनूँ सूर्य भत्किन्छ अचेल,
– जब नेपालदेखि नेपालसम्म यात्रा गर्छ
त्यो माथि हुन्छ,
त्यसलाई केहि भन्नु हुँदैन,
उसलाई कसैले छेकिदिंदा बादल भयो पनि भन्नु हुँदैन,
त्यसैले त सूर्यलाई पनि कसैले कतै लगिदिए हुन्थ्यो
– फलस्वरूप यहाँ रात र रातै हुन्थ्यो
कुनै अरु देशको म्युजियममा, मूर्तिहरू लगेझैं,
रात जति माथि भए पनि
– रात जति तल भए पनि,
आफैले छोइरहेको ठाउँमा हुन्थ्यो ।

न त्यो माथि हुन्थ्यो न त्यो तल हुन्थ्यो ।