असफल प्रेम पश्चात् / अञ्जु शर्मा / सुमन पोखरेल
मस्तिष्कमा नीमको झैँ तिक्तता घोलिएको
अस्तित्वमा, बढ्दै गएका उदासीहरूको अँगालो
विषादले भरिएका साँझका कुराकानी,
निर्क्यौल गर्न मुस्किल छ पहिले के मर्छ
प्रेम या सपना ।
प्रेमको संसारमा टेकेको पहिलो पाइलो र
जीवनमा बसन्त आउनुको
जहिल्यै पनि समान अर्थ हुन्छ भन्ने के नै छ र !
वैवाहिक जीवनको
यदी हुन्थ्यो कुनै गेटपास भने
अनुभवहरूको माइक्रोस्कोपले पनि भेट्टाउन सक्ने थिएन यसमा
कुनै ग्यारेन्टी, अथवा वारेन्टी ।
ठेगान छैन
मधुमासले सधैँ नै भरिदिन्छ जीवनमा
महजस्तै पलहरूको स्वाद भन्ने,
चुहिन्छ मधूकलश
महिना पुग्नुभन्दा ठीक्क अगाडि, कहिलेकाहीँ ।
सम्झौताहरूको अन्त्यहीन फेहरिस्तमा
परिवर्तित हुन्छ प्रेम,
आशा गरेर बस्छ देखावटी मुखुण्डो,
तमाम डर र शङ्काहरू बोक्दै
अनिश्चितताको लिकैलिक घस्रिने ट्रेन चढेर
जान्छन् भएभरका सपनाहरू,
र आखैँका अगाडि लम्पसार हुन्छन्
धूमिल हुँदै गरेका फर्किने सबै बाटाहरू ।
यस यात्रामा हरेक रात
अलिअलि गर्दै मैन भएर पग्लिन्छे एउटी नारी,
मौनताको संसारबाटबाहिरतिर एकएक पाइला हिँड्दाहिँडदै
एक दिन झट्कारिदिन्छे आत्मामा टाँसिएको विवशता र लाचारी,
ऐनामा चिनेर आफूलाई
फ्याँकिदिन्छे फुकालेर ढर्राको पहिरन एक दिन,
पोखिदिन्छे आफूभित्रको तमाम आगो
त्यसैमा खन्याइदिन सकियोस् त्यस थुप्रोलाई भनेर
जसलाई कुनै बेला प्रेमपत्र भनिएको थियो ।
प्रहार गर्छे सारा अस्तित्वलाई,
वर्षौँ पुरानो आफ्नो तसबीरसँग कुरा गर्छे,
"गुड मर्निङ !",
खोज्दछे आफ्नो नामको एउटा उदाउँदो सूर्य
समाउँछे कफीको एउटा ठूलो मग ।
र जहाँ समाप्त हुनु थियो दुनियाँले
त्यहींबाट शुरू हुन्छ एक स्त्रीको
आफ्नो संसार ।