भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

असफलताका कीर्तिस्तम्भ ढालेपछि / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


असफलताका कीर्तिस्तम्भ ढालेपछि
मैले देखेँ–
बाँच्ने आशाहरूको विजयजुलुस
साह्रैसाह्रै सुन्दर हुँदोरहेछ।
 
असफलताका कीर्तिस्तम्भ ढालेपछि
मअघि ठिङ्ग उभियो
पश्चात्तापको एउटा सिङ्गो पहाड
एउटा लामो अन्तराल/स्वर्णिम अन्तराल
जिन्दगी नामको यात्राको
अनाहकमै खर्च गरिएछ।
 
असफलताका कीर्तिस्तम्भहरू ढालेपछि
फूलहरू फुल्दारहेछन् आशाका
मूलहरू पनि फुट्दारहेछन् आस्थाका
समुन्नयनका एकपछि अर्का सिँढीहरू
देखिँदारहेछन् बाटाबाटामा
सुसमयका सुन्दर बादलहरू
क्रमशः बर्सिँदारहेछन्
आशावादी मनका फोगटाहरूमा।
 
साँच्चै ढाल्नै पर्नेरहेछ
असफलताका कीर्तिस्तम्भहरू
मान्छे जन्मेर मान्छे बाँच्नका लागि ... ... ...।