अस्तित्वको खोजी ओफेलियाको गीत / ईश्वरवल्लभ
कैयन जिउँदा आँखाहरू
आफूभन्दा बाहिर केही छैनन, आफैँ सम्पूर्ण र स्थूल,
सबै एकाइ खाँदेर
यस्तै आँखाहरू लिएर,
दुई हातका फैलेका हत्केलाहरूभरि कैयन् सहस्र मानिसका,
बीउ दिएर चपरी-चपरीमाथि परदेखि झन् परसम्म
झन् परसम्म प्रत्येक परिधिसम्म,
कैयन आशा र आकाङ्क्षाको लिप्साको प्रत्येक साँध र सिमानासम्म
सिमाना फोरेर अझै परसम्म !
एउटा परिचित नितान्त कम अस्तित्वको चरा आउँथ्यो उहिले ।
उत्तरको त्यो चट्टानमा,
थुतुनो पुछ्न केवल एक फेर एक हजार वर्षमा,
एक उचाइ त्यसका सयौँ कोसका विस्तृततामा
यो महान् अस्तित्व युगमा ओच्छ्याएर वा उभ्याएर सम्भालेको रे
त्यस स्विथजोडले—
परिवेश र अस्तित्वसहित सकियो त्यो तैपनि थुतुनोले खिएर,
ओहो ! त्यो स्वीथजोड टापु !
हिले छैन कहीँ छैन महासागरहरूमा
त्यसै दिनदेखि उसको त के मेरो पनि अस्तित्व रहेन
मानिस रहेन अकिञ्चन,
एउटै जिउँदो आँखा रहेन ।
साधनै रहेन, जब विस्तृतता नै रहेन,
आस्था नै रहेन जब आवश्यकता नै थिएन
ओडेर के पुग्छ र त्यस दृष्टिलाई धरतीमा ?
जब केही नै थिएन, अस्तित्व नै रहेन ।
आदम र इभदेखिन् प्रारम्भ भयो पूर्ण भएन
सानुभन्दा सानुको क्षेत्रको परिधिभित्रसम्म टम्म हुञ्जेल
ऊ अटाएन
उपलब्धि पनि कति अकिञ्चन
केही त भरियोस् जो खालि छ, भरिएन ।
ओहो ! कति परतन्त्रता !
ओहो ! कति बाध्यता !
कति अभाव !
सालिकको, जो मानिसका काँधमा नोल हुन्छ
फ्याँकिन्छ यस किनारदेखिन् उखेलिएर सम्पूर्ण निर्जीवनसहित
यस चौरस्तादेखिन् उस चौरमा ।
विभाजित,
जहिले पनि विभाजित यो मानिस
पशुता केही मानिसमै, केही सालिकमा,
सातीर यो मानिस उहिले पनि भएको,
बेबिलोनको जन्मनुभन्दा पनि पहिले
क्लियोपेट्राले जुलियसलाई फँसाएकी थिइन् त्यस ताक
न एन्टोनियोले क्लियोपेट्रालाई माया गरेको थियो
सातीर भएको यो मानिसको बाख्रा
केवल उभिन आफूलाई माथिसम्म लिएर
छर्न केही हदसम्म आफूलाई
उभिन सकेन उसले ।
सातीरमा पनि मोहनजोदरोमा पनि, अजन्तामा पनि नृसिँहमा पनि,
दाखैदाखको बारीमा निवास उसको
ऊ देवता डाइओनिसस
आपादमस्तक रक्सीमा डुबाएर ऊ बाँच्न सकेन
एक थोपा प्राण पनि थिएन पोस्टमर्टममा
डाइओनिसस् स्विथजोड टापु जस्तै खिइयो,
सकियो, त्यो गएको हिजो जस्तै ।
ए, रक्सीका देवता !
पलायनले पनि बाँच्न सकिनस् तैँले
भागेर उही पुग्यो त्यो फेरी जहाँदेखिन् भाग्यो ।
ए, पिरामिड !
ए, फारुक !
आफ्नै चिहानको पिरामिड ब्यूँतेर जितिनस्
ती ढुङ्गाका खापाखाप के हुन् र !
चपरी जति त हुन् माटाका ।
केही फरक छैन तिरोहिततामा— यहीँ सुत्छस् तँ, तँसितै त्यो कुल्ली,
ढुङ्गा बोकेर सुत्छ,
उफ ! केवल तीन गज जमीन,
उफ ! तीन गज जमीन,
अरू फैलिन सकिनस् ?
टाइरन र मिसिनियाका परखालदेखिन् कन्सन्ट्रेसन क्याम्पसम्म,
कैदी हुँदै आएको मानिस
इतिहासको बोझले थाकेर उँभो उभिएकै छैन,
सिकन्दर ! ओ सिकन्दर !
उच्चाकाङ्छी उसलाई विश्व नभई पुग्दैन बाँच्न, अलिकति बाँच्न
आधा संसार जितेर ज्वरोले थलियो,
पाटीमा पहाडबाट नुन किन्न आएको ढाक्रे जस्तै
मर्योा पनि
राजा हम्मुराबीको दरबारमा ।
मर्योह र मर्योम मात्रै
थेसालीको खाइ त्यो पहाड ।
थियो त्यो पनि,
बाँझो भयो त्यो र उम्रियो त्यो
सकियो र सकियो ।
टाँस्सिएको केही मोटाइ नलिई लिपिएको एकलो रुख उमारेर
बाँचेको आफैँभरिको सडक ।
नितान्त निर्जीव लावारिस इँट
नार्सिसस् भयो हिजो देखिन् आफैँमा सिङ्गै दरबार चिथोरेर,
क्रुस्टेसिया फोसिल,
एल्गीको फोसिल पनि सिँगारियो श्रीपेच ओडेर,
कैथेमा रौँसे भयो जीवन पाउन एक गिलाँसभरि
कस्तो उपलब्धि
उपहास कस्तो
व्यङ्ग्य ।
एक कोल्टो दिँदा डिलमुन्तिर झर्ने उपलब्धि
केही छैन, केही छैन र केही छैन,
केही नभएरै केही छैन अथवा भएरै केही छैन,
यौवनले आफूलाई शुरु गरेको वास्तविक रेखा जस्तो
केही तन्किन्छ उहाँसम्म, समय समाएर
तर केही छैन ।
सागर, अनि फेरि सागर
सानु धर्ती त्यहाँ,
केही उप्जला कि,
सानु कान्छीऔँलाले गोवर्द्धन उठाउला कि,
चलबलाउला कि ओतमा जिन्दगीहरू
कि सानु चिमोट्याइँले धराशायी हुन जालान् शहरहरू
कि सानु चुलेसीमा साँध लाग्ला चिङ्ग्ना गर्धनले,
केही छैन,
सिलहट उभिन्छ छाया थामेर
परिवेशको भार उचाल्छ
रातमा भिजेर
आक्रमण हो शायद सम्पूर्ण अन्धकारको यो
लोतो ल अगा ।
शताब्दीलाई निल्दै उकेल्दै गइरहेको पिचास
ड्रेकुला, फेरि ड्रेकुला ।
अथवा
सङ्घर्ष बेरुजु भएर क्यानभासमा मात्र रेखिएको,
सङ्घर्ष विद्रोह नभएको
फेकिएको तन्ना जत्तिकै ओच्छिएको !
कालभैरवको रातो लामो ओर्लेको जिब्रो, जाँडको घ्याम्पोमा,
कि लत्रिएको तलसम्म रगत सुँघ्न
घिन्तामुनि सिलहट,
केही छैन, केही छैन ।
हामीले पहाड रुचाउँछौँ,
हामीले ओच्छिन्छ, ओर्लिन्छ, उकालिन्छ यो पहाड
कचौराले बाँधेको चिया रुचाउँदैनौँ हामी,
हामी पहाड रुचाउँछौँ
हामीले ओच्छिन्छ, ओर्लिन्छ, उकालिन्छ पहाड
हाम्रो थुतुनाले ओसार्छ केही साधन
हामी रुचाउँछौँ,
पहाड ओलोम्पस, माथि पुगेर शिखर पूजा गर्न
वेदीमा लेख्न त्यही एउटा गीत,
ओफेलिया, ओफेलिया, ओफेलिया ।