अस्वीकृत अनुहार / गीता त्रिपाठी
कहिलेसम्म बर्सिरहला
तिमीमाथि यति बिध्न अहङ्कारी बादल
किन स्विकार्य छ तिमीलाई यो युगसम्म पनि
दुर्वासाहरूको तथाकथित श्राप
र,
प्रेमको अन्तहीन पर्खाइ !
समयको कुन मोडमा छ्यौ ?
आकाशको रङ नियालेर
घडी पलाको जाँच गर्ने तिमीलाई
थाहै हुँदैन हिजोआज
आफ्नो अनुहारमा बदलिरहेको मौसम ।
तिमीलाई बेजान ठान्नेहरूले नै
तिमीमाथि ज्यान लिने हमला गरिरहेछन्
र, तिमी तिनैका निम्ति बसिरहिछ्यौ-
दीर्घायूको कालातीत उपवास ।
तिम्रा ओठहरू
भत्किएका किनारा होइनन्
जहाँ प्रत्येक हिउँदमा
जगाधान गर्ने सपना देखाऊँन्
पुरानै अनुहारका दुष्यन्तहरू
मात्र तिमी स्वीकारोक्तिमा मौन बस्छ्यौ
साक्षी बस्दैन विदूषकसमेत तिम्रा निम्ति ।
तिमी बाटोको लम्बाइ हेरेर
पर्खाइको परिभाषा बदल्न सक्ने मान्छे
अस्वीकृत अनुहारहरूबाट गुडेर
आफ्नै पसिनाको बाघचालमा अभ्यस्त छ्यौ
यो निधारको खत
तिमीले अन्जानमा खेलेको मजाक होइन
आफै झरेर अरूलाई उचाइ दिनेहरू
हृदयको खत पनि बिर्सेर बाँच्छन्
जति बर्से पनि यो बर्खाको सङ्गीत
कहिल्यै सकिएको छैन
तिम्रो धैर्य र
यो जमीनबाट उठेको सुगन्ध !
सीमाना नाघेपछि भने सहनुको
धर्ती होइन मुटु फाटेको देख्दै छु यतिखेर
सपनाहरू टाँगिएको आकाशबाट
असिना हो कि पानी हो बर्सिने
तिम्रो अनुहार हेरेर
असमर्थ भइरहेकी छु
अनुमान लगाउन अहिले!