अहल्या / जी.एस. सिद्धालिङ्गलाह / सुमन पोखरेल
के मिथिला जाने बाटो यही हो, प्रभू ?
१
के मिथिला जाने बाटो यही हो, प्रभू ?
त्यहाँ केही बौद्धगुम्बा छन् भन्नुहुन्थ्यो तपाईँ।
के यो ध्यान गर्ने पवित्र भूमि हो?
एकान्त, परित्यक्त, निर्जन
चीसो, चीसो छ बलिदानी आगो।
मन्त्रहरू स्थिर छन्
बिलाएको छ, पवित्र ज्वालाको धूँवा;
शून्य मात्र बाँकी छ त्यहाँ,
र मुर्दाशान्ति छ ।
जङ्गलको आगोमा परेर डढेका फलजस्तै।
कस्तो डरलाग्दो श्राप लाग्यो यस धर्तीमा?
के ढुङ्गामा बदलिएकी अहल्या झर्किने ठाउँ यही हो?
२
तिमीले मलाई देखाएर मौन आदेश दिएदेखि
भावनाको भुमरीमा परेकी छु, म ।
हेर, म एउटा आवाज सुन्दैछु
प्रार्थना गर्दै गरेको, माग्दै गरेको, आग्रह गर्दै गरेको!
गहिरो दु:ख र पीडाको आवाज
यो आवाज कुन सङ्गीत मा छ?
अहिल्या; उनी श्राप मुक्त भइन् रामको कृपाले।
कस्तो शान्ति!त्यस्तो शान्ति जो सुझबुझबाट कोशौँ टाढा छ !
शरीर र आत्मा आपसमा मिसिए
तिमी मौनता आदेश गर्छौ, हे प्रभू !
तर के मूकताले जित्छ?
३
मेरो पूर्वजन्मका स्मृतिहरू,
कुनै सुगन्धले झैँ, मलाई पछयाइरहन्छन्!
प्रकाशले मेरो बाटो उजिल्याइरहन्छ!
सृष्टी प्रसन्न
मुक्त आत्मा शरीरमा समाहित भयो।
स्वरविहिन चरो
मौन माहुरीहरू शक्ति सञ्चय गर्दै
मुक्तकण्ठले गाउँछन्
प्राणहीन धर्ती जीवनतिर दौडन्छ।
पापमुक्त। निर्दोष अनुहार।
यिनलाई मैले कहाँ देखेको थिएँ?
(त्यो किम्बदन्ति, मैले कहाँ सुनेको थिएँ)
कुन ऋषि हो यो?-
प्रकाशपुञ्ज जस्ता आँखा भएको ।
कुन नारी हो यो?
मन्दिर - मूर्ति!
कोमल र शरीरलाई सुखदायक,
र गोडा ज्यान फिर्ने न्यानो।
निश्चल आँखा, स्थिर हेराइ,
कोमल हृदय,
ऋषिले अब यहीँ स्वर्ग भेट्टाएका छन्।
उनको सौन्दर्य सबै पीडा बिर्साउने कञ्चन-
उनी घुँडा टेक्छिन् र मलाई नमन गर्छिन् मेरो आफ्नै सन्तानजसरी,
ओहो! मैले अहिले सम्झिएँ, उनी गौतमकी पत्नी हुन्!
के यही हो मिथिला जाने बाटो, प्रभू ?