आँखाबाट नहराउने तस्वीर / विमल वैद्य
बलिरहेको आगोको मुस्लोमाथि
आमा चुपचाप बस्नुभयो
सहेर पीडा आगोको
आफ्नै आँखामा निदाउनुभयो
सधैँ बगिरहने खोलाले
अचानक मेरी आमालाई बगायो
नदी किनारछेउ हात बाँधेर
बगिरहेकी आमालाई हेर्दै
म मुकदर्शक टोल्हाइरहँ
बगेर निक्कै तल
दोभानछेउ पुगेपछिमात्र थाहा भयो
ओहो !
आमा त फेरि नफर्किने गरी
बगिसकेको किनारको छाल बनिसक्नुभएछ ।
यद्यपि लाग्दैन मलाई
आमालाई फेरि भेट्ने छुइनँ
देख्ने छुइनँ आमालाई फेरि
मायाले हुर्काएका उमेरहरू।
मेरै व्यग्रतामा ओछिएका आँखाहरू
भोकले छटपटिंदा
उद्वेलित बनेको आमाको मन
काखबाट उठेर
औँला समाउँदै आमाको
हिँड्न सिकेका पलहरू
मलाई फकाउन
आमा हाँसेको क्षण
मलाई खुसी बनाउन
आमा रोएको समय
सबैसबै ताजा बनेका छन्
उस्तै दुरूस्त छन् ।
पखालेर चिता
नदी किनारमा आमाको
कहाँ पखालिँदो रहेछ र माया !
बगाएर अस्तु भङ्गालोमा
कहाँ हराउँदो रहेछ र
तस्वीर आँखाबाट आमाको ।
०००