भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आऊ बाली लगाऊँ / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


याम पर्खेर फुलेका वसन्तका फूलहरुसँग
तिमीलाई केको डाह सुनगाभा !
तिनलाई तिनकै फुलाइमा छोडिदेऊ
अलमलियोस् यो वैशाखको हावा तिनकै वरिपरि ।

बितेका रातहरु सुनगाभा !
तिम्रै उदास अनुहार जस्ता थिए
र आजको यो घाम पनि तिमिले हाँसे जस्तै लागेको छ;
आऊ अब आउने हिउँदमा उठाउनलाई
हाम्रो सम्भावनाको खेतमा बाली लगाऊँ !

हाम्रो खेत ओगटेर जुन भीमसेन ढुङ्गो बसेको छ
त्यसलाई हाम्रा बाबुले पुजे
त्यसलाई हाम्रा बराजुले पुजे
त्यसलाई पुज्दा-पुज्दै निख्रे हाम्रा कैयौँ पुर्खाहरु !
हाम्रो खेत मिचेर बग्ने खोलालाई
आऊ छेकिदिऊँ त्यही भीमसेन ढुङ्गो पल्टाएर
त्यस ढुङ्गाले ओगटिराखेको ठाउँभरि ।

वसन्तले छोएका फूलसँग डाह नगर सुनगाभा !
अलमलियोस् यो वैशाखको हावा तिनकै वरिपरि ।