आकाशका तारा के तारा ? / हरिभक्त कटुवाल
प्रिये !
आकाशमा चम्किने नौलाख तारा
दुईतारा ल्याई लुर्कना बनाई
तिम्रा बुच्चा कानहरुमा
भुन्डाइदिन सके कस्तो हुँदो हो !
तर प्रिये !
ती तारा टाढा आकाशमा रहनाले नै तारा छन्
हातले टिप्नसक्ने फलझैँ -
फल्दा हुन् त ती तारा पनि रुख-रुखमा
तारा नभई झटारा हुन्थे ।
टाढा छन् - त्यसैले तिनको सम्मान छ
कवि-कलाकारको मुखमा
ताराको गुण-गान छ
उनीहरुकै तथ्य खोज्नमा
व्यस्त विज्ञान छ ।
पृथ्वीका जीवले -
आकाशका ती तारालाई
मात्र देख्दछन् तारा
टाढा देख्ने ती आँखाले
देख्न सकेनन् वरि-परिका
पृथिवीका तारा -
चामे, रामे, हर्के, वीरे कति तारा
छन् पृथ्वीमै तर देख्ने कसले ?
तारा भएरै पनि ती बिचारा !
गाँस-वासको डोहो-डोहोले
पिई आँसुका नुनिला धारा
गनी टाढाका तारा
कुकुर जस्तै हीन भएर
बिताइरहेछन् जीवन सारा !
आकाशका तारा के तारा !!
न उनमा छ आफ्नोपन क्यै
एक सूर्यको ज्योतिमा नै
ती ताराको अस्तित्व हराउँछ
तर ती तारा -
हर्के, वीरे, चामे सारा्
कसले चिन्ने यिनीहरुलाई ?
चिन्न सके त -
एक हर्केमा, एक वीरेमा
एकेक सूर्यको शक्ति निहित छ
एक चामेको, एक रामेको
विवेक-ज्योतिले विश्व सिँगार्छ ।
अन्धो पृथिवी - अन्धा हामी
हाम्रा लागि घरको दूध पानीसरि छ
नौलाख तारा टाढा हुनाले तारा छन्
रामे, चामे, हर्के, वीरे झटारा छन् ।
भयो प्रिये !
आकाशका ती तारा ल्याई
लुर्कना किन लाउने ?
पृगिवीका तारा सहयार्न किन नथाल्ने ?
प्रिय, अझै अलिक दिन बुच्चै बसिद्यौ !
बुच्चा कानमा लुर्कना होइन
पृथिवीका रत्न बटुली
तिम्रो मनको कालो आकाशमा
ज्योति सजाउँला !