भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आतङ्की गाउँ / कामिनी कामायनी / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हातगोडा बाँधेर
निदाए झैँ थियो गाउँ
जहाँ त्यसबेलासम्म पनि कोहीकोही गाउने गर्दथे
प्रभाती भूमर नचारी,
जहाँ त्यसबेलासम्म पनि पानी खाने गर्दथे
विभेद नै भए पनि
एउटै घाटमा
बाघ र बाख्रा ।

खेत र खलाहरूमा परपरसम्म फिँजिएका थिए धान
हाँसखेल गरिरहेथे मान्छेहरू
र सबैका अनुहारमा भरिएकै थिए खुसी ।
नयाँ प्रेमप्रसङ्गका हुने गर्थे चर्चा
राम्रानराम्रा कुरामा बुद्धी खर्च हुने गर्थ्यो।
जहाँ त्यसबेलासम्म पनि जोगिएको थियो पछ्यौरीको लाज
नारीहरू मन मारेर भए पनि गर्ने गर्थे आआफ्ना काम।
जहाँ त्यसबेलासम्म पनि बिहानदेखि बेलुकीसम्म
बन्ने गर्दथे किसिमकिसिमका व्यन्जन
जीवनबाट सन्तुष्ट सुखासनमा बसेर
ज्ञानी ध्यानी बाँच्ने गर्दथे मानस ।
जहाँ त्यसबेलासम्म पनि ठाडै थियो परालको माच
हल्ला गर्दै केटाकेटीहरू भइरहन्थे मख्ख ।
त्यही सुतेझै लाग्ने उँघ्दै गरेको गाउँमा
पसेका थिए एक दिन
केही अपरिचित
जसका वेशभूषा र बोली पनि थिए विचित्रका।

हातमा हरियाहिरया कट्कटाउँदा नोट र बन्दुक
आएका थिए तिनीहरू भ्रन्ति फैलाएर शन्ति किन्नलाई
उमार्न
खेतबारीमा
बारुद आर डी एक्स
फ्याँक्दै थिए शब्दका पग्लिँदै गरेका लावा
र हेर्दाहेर्दै गाउँको पोखरी भयो विषाक्त
बन्द भए किर्तन र अजान
डराउन थाल्यो समाज
त्यहाँ यसबेला कबिज छ
भयानक अट्टहास गरिरहेको
राताराता आँखाबाट आगो ओकल्ने
आतङ्कको
घिनलाग्दो साम्राज्य !!