आत्मीय / डेलमिरा अगस्तिनी / सुमन पोखरेल
रातको अनन्त गहिराइमा
सुनाउनेछु म तिमीलाई
मेरो जीवनका सपनाहरू।
नाच्नेछ मेरो मन तिम्रा हातमा,
मेरो दु:खले तिम्रा काँधमा थकाइ मार्नेछ।
जीवनका शिखरहरू एक्ला छन्,
अति एक्ला र सार्है चिसा छन् !
मेरा रहरहरूलाई भित्रै थुनिदिएकी छु मैले,
ती सबै छोडिएका छन्, मैले ठड्याएको सिङ्गमरमरे शिखरमा।
आज खोल्नेछु म एउटा ठूलो रहस्य
तिम्रो मनसँग मभित्र प्रवेश गर्ने शक्ति छ।
मौनतामा अपरिमित उत्कण्ठाहरू लुकेका छन्।
मलाई सङ्कोच लाग्छ,
तर तिमी भए मात्र छु म।
म सपनाले मर्नेछु;
स्वच्छ र शीतल, तिम्रो हृदयका झर्नाबाट प्रेम पिउनेछु म।
मलाई थाह छ ,
तिम्रो छातीको कुवामा मेरो तिर्खा मेटाउने सन्तुष्टि छ।
र मलाई यो पनि थाह छ, यही नै हो
वर्णन गर्न नसकिने
हाम्रो जीवन विनिमयको जादू ।
निःशब्दतामा,
तिम्रो आत्मासम्म आइपुग्छ मेरो आत्मा
प्रतिविम्व बढाउने ऐनाजसरी।
मौनताको चिसो चिहानमा
कल्पना गरिहेर
मैले देखेको सपनाको प्रेमको!
कल्पना गरिहेर
जीवनभन्दा ठूलो, सपनाभन्दा ठूलो
अनन्तसम्मका लागि कैद भएको प्रेमको।
कल्पना गरिहेर मेरो प्रेमको,
असम्भव र परामानव जीवनको चाहना गर्ने
मेरो प्रेमको कल्पना गरिहेर।
तिमी बुझ्दछौ,
कसरी बिथोल्छ र निमिट्यान्न पारिदिन्छ यसले
मान्छेको हाडमासुले बाँधिएका ओलम्पस-सपनाहरूलाई।
आफ्ना पखेटा पौडाउनका लागि
विशाल सुनौलो सूर्य वा समुद्री तटजस्तै
उज्यालोले बनेको नीलिमानिसृत हृदय भेटेपछि
उघ्रियो तिम्रो हृदय।
असम्भवलाई अँगालो हाल्ने कल्पना गरिहेर!
चम्किलो! जिउँदो भ्रम!
ईश्वर, सूर्य, फूल, हावा र पूरै जीवनको आशीष लेऊ
उसो त, तिमी नै जीवन हौ।
मेरो दु:खसँग किनेकी हुँ मैले यो खुशी
धन्य छ मेरा आँखामा दाग बसाउने रुवाइ
गुलाफी ओठबाट सूर्य उदाउँदा
मुस्काउँछन् विगतका सबै घाउहरू।
तिमीले थाह पाउनेछौ, मेरो प्रिय!
फूलहरूले भरिएको रात पार गरेर पल्लोपट्टी पुग्नेछौँ हामी
किन डराउँछ मानव भन्ने सुन्न सक्नेछौ तिमीले त्यहाँ
हेर, अनुभूत गर, त्यस अन्त्यविहीन जीवनलाई।
रातभित्र अझै जानेछौँ हामी,
अझैभित्र पस्नेछौँ
जहाँ गुञ्जने छैन ममा कुनै प्रतिध्वनि।
छायामा लुकेको रातको फूलजसरी मीठासले भरिएर
फक्रनेछु म बिस्तारैबिस्तारै
तिम्रा लागि।