भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आदिम आनन्द / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिम्रो एकान्त रमाउँछ मसंग
तिम्रो फुर्सद लयमा लुकामारी खेल्छ
तिम्रो सपना नडुलेको संसार डुलाउँछ
तिम्रो चाहना अनुपम अंगालोमा वाध्छ
को होला मजति खुशी !

जुन तारा साक्षी बन्छन
जब पठाउछु मायाका रुपान्तरित तरंग
कहिले आँगनबाट,कहिले कौसीबाट
विस्तारै ध्यानस्थ भई
पाउछौ होला प्रिय !

कसैले नदिएको शीतलता
कसैले नपोखेको घाम
कहाँबाट वोकी ल्यायौ ?
कहिलेबाट साँचेका थियौ ?
सविस्तार सुन्ने दिन
निश्चय आउला !

पर्खनुको आदिम आनन्द
जो कोहीलाइ जुट्दैन्
अनन्त आश, अटूट स्पन्दन
हावामा मिसिएर खुशी
वहिरहेछ मन्द मन्द !

न कुनै रिक्तता
न अपूर्णताको अंश
यो पुरा पुरा सुखः
भुलाई रहेछ अतीतका सारा सारा दुखः
कुनै चाहनाको महल पुग्नु छैन
ठूलो प्राप्तिको मोह वा विशाल विद्रोह
मन केही पनि सोच्दैन् ।

बस्
यसरीनै पवित्र पत्र पाइरहूँ
शब्द स्पन्दन सुनीरहूँ
अनन्तवाट अक्षर आइरहून्
               आइरहून् ।