भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आमा / अबीर खालिङ
Kavita Kosh से
तिम्रो फरियाको फेरमा
मेरा कतिमाना आँसु होलान् / आमा
सिङ्गान र रालले
तिम्रा सुग्घर क्षणहरू
कति लखेटेका होलान्?
म रुँदा तिमी रोएर तिम्रा सुखद बेलाहरू
म लड्दा तिम्रा सबल उपस्थिति
कति घाइते भए ।
मचाहिँ
जुनजस्तो सुग्घर र सुरक्षित
हिँडिरहेँ तिम्रो मायाको आकाशमा ।
तिमीबाट सास पैँचोलिएर
बजारहेछु यो मुरली
यो नन्दन वनमा ।
तिमीले दिएको यो दिव्यवाणीमा
भज्दैछु शिवनाम/ गाउँदैछु देशराग ।
तिमी मेरो शब्दमा
शक्ति हौ
मेरो आत्ममा प्रज्ञा भएर छौ
मेरा हरेक पाईलामा
लक्ष्य भएर छौ
मेरा शरीरका प्रवाहित रक्तकणहरूका
अनन्त श्रोत हौ ।
आमा! मैले लेखेका नलेखेका कविताहरूका
आदिम र अन्तिम स्वर तिमी हौ।
जिन्दगीको यो पीडामय युद्धमा
आमा तिमी
आदि, अनन्त, अहर्निश
मेरो सुरक्षा कवज हौ ।