आमाको कविता / गीता त्रिपाठी
पानीजस्तै स्वच्छ हुनु
हावाजस्तै पवित्र
आमा प्रायः यही भन्नुहुन्थ्यो
आमा जसले जीवनभर
आकार दिनखोज्नुभयो पानीलाई
आयाम दिनुखोज्नुभयो हावालाई
आफै आकारविहीन, आयामविहीन
मात्र भ्याकुम बाँचेर
दुई चिरा पार्नुभयो आफ्नो आकाश
र,
एक्लै थाम्नुभयो सँगसँगै
हुर्काउनुभयो स्वच्छ हावा
पवित्र पानीको सतहमा...
आमाले पानी बोक्नुभयो जीवनभर
र गाग्रोजस्तै बाँच्नुभयो सारा जीवन
कहिले उचालिनुभयो तर केवल गग्रेटोसम्म
कहिले आफलिनुभयो रित्तिएको झोँकमा बलेसीतिर
जसोतसो टुट्नुबाट बचाएर आफूलाई
गाग्रोभित्र झ्याउ उम्रिएर पनि तर फैलिनुभयो आमा
आमाले अँगेनामाथि पानी बसाएर
हावा फुक्नुभयो जीवनभर
आमाको सासले ज्यान भरियो आगोको
चारैतिर न्यानो र उज्यालो सुवास फैलाएर
आमाले आगोकै निम्तिरित्याउनुभयो आफ्नो बाँकी उत्साह
मात्र छोडिनुभयो आमा
खरानी अँगेनुमा
अहिले आमाले पवित्र छोडेको हावा
आमाले स्वच्छ बग्न दिएको पानी
आमाले प्रेम गरेको यो धर्ती र आकाश
सबै आमालाई खोज्दैछन् टुहुरा भएर
बाँचुन्जेल आमा
कसैले खोजेनन् बतासमा आमाको दुःख
पानीमा आमाको आँसुको अंश
भान्सामा खाना पकाइरहेकी आमा
खोलामा लुगा धोइरहेकी आमा
घर बढारिरहेकी वा महिनाबारीमा पनि
समाउँदै कम्मर र पेट
पीडाको पटुकी कसेर
घाँस दाउरा या पर्ममा सन्तानको भविष्य
खोजिरहेकी आमा
कसैले देखेनन् आमाभित्र बाँचिरहेको खास आमालाई
किनकि
आमा मात्र विषय भएकी छिन् तिनका निम्ति
र,
तिनलाई आमाको कविता सुनाउनु
मञ्चासीन हुनु,
ताली खानु मात्रको उपयोगिता छ आजभोलि
आमा लक्ष्य होइन
मात्र गन्तव्यको बाटो
त्यसैले आमा कविताको अन्तिम भोक
र भोकको ! अन्तिम कविता . . . !!!
०००