आमासँग / धर्मराज थापा
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
नेपालका सीधा-सीधा उस्तै छन् भने
पहाडका गोरेटा ती उस्तै छन भने
हक लाग्ने बोली बोल्दा धक लाग्छ भने
अन्यायमा न्याय पर पर हुन्छ भने
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
ऋण लाग्यो तिर्छ भनी नेपालका छोरा
विदेशिए कति कति हुँदै कर्महारा
जोश झिके होश नपाई ज्यान दिए भने
आजसम्म फर्की यतै आएनन् ती भने
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
दशनंग्री खियाएर जल्ले गर्यो काम
उही सुत्छ पाटीभित्र भोकै हरे राम !
हुन्छ धनी अर्कै उसको पसीनाको मूलमा
बसी खाने कीरा लाग्छ हृदयको फूलमा ।
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
भिखारीले भीख माग्यो पाएन के भीख ?
झिंगा भन्काइकन सुत्यो सडकको बीच
सुनँ मैले चिच्याहट आधीरात पनि
भोक मर्यो भीखमंगा पल्टी रूखमनि ।
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
नचाहिंदो होहल्लामा जन लाग्यो भने
आपसमा हाना-लुछी गर्न थाल्यो भने
मानवता-मूलखोला सुक्तै गयो भने
साहित्यको चिल्लो पान वैली झर्यो भने
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
जिन्दगीको भर छैन आए पनि काल
एकबाजि जुर्मुराई उठ्छ नयपाल
शासक र शोषकले होश राख्नुपर्यो
स्वदेशको लागि ज्यानको आणा मार्नपर्यो।
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
विदेशीको सामु हाम्रो गिर्छ शीर भने
हिमालको चुचुरा नै निहुरन्छ भने
स्वदेशको मानवता बेच्नुपर्यो भने
मातृभूमि विदेशीको हातमा पर्यो भने
म भात खान्न ए आमा, उम्काइद्यौ घरका जहान ।
जुन दिन अशिक्षाको बाँध फुटाउँला
त्यही दिन पृथिवीको भार बिसाऔँला
जुन दिन सौन्दर्यको खोला बहाऔँला
त्यही दिन घर घरै दीप जगाऔँला ।
म भात खाउँला हे आमा उम्काउँला देशका जहान ।
.......................................................
प्रगति,१,२००८