इन्द्रेनी / लक्ष्मीप्रसाद देवकोटा
क.
पग्ले सृजन–घन, हे साउन
रङ्ग–धनी
लच्की ललित रे चुली चुली
गाँसी, कलाकी
इन्द्रेणी !
ख.
वाष्पद्रवमा किरण–बुना यो
धनुष नवीन !
हान्दछ, कुसुमशर दृग–दिलमा !
झन्कार्दछ क्या
भाव नवीन !
ग.
पहिलो कवि पछि लोचनका
सलिलकण
किरण चढेथे, किरण लडेथे
स्वर्ग पुगीकन,
अवनी छुन !
घ.
सत्य नै के यसरी पहिले
पग्ल्यो होला
रङ्ग–पागल ?
सृष्टिपरीका चुहे परेला
यसरी झझल्की,
पहिले लगाई,
यो गाजल ?
नवीन वधूका दुःखसुख मिसिई,
झल्लरमा झलझल ?
ङ.
अश्रुत सप्तस्वर निर्झरिणी
के यो ?
घाम–छायाको मायाको के
शादी सुन्दर ?
रङ्ग–निर्झर ?
दुःखसुख झरझर ?
स्वर बरबर ?
च.
जादूचरी सलिल–तनीको कुसुमे लच्को
चुली, चुली, साँघु बाँधी,
दिव्य प्रदर्शन किन यो मचियो ?
गाउँछन् मसिना बुलबुलचरी !
वाह ! कलाको, दृश्य, श्रव्यमा,
विजयधुरी !
छ.
न, किन हो ए ! झल्केकी ?
स्वर्ग र पृथिवी टूट,
सुन–नर–फूट,
जोर्न तिमी छौ
पल्केकी ?
ज.
बोक्सी बत्ती स्फुटिट किरणकी
रङ्गिली बन्ध !
घन जलकण सब हुन्छन् पतङ्ग !
ज्वलन छ तिनको
चरमानन्द !
झ.
मर्न सिकाऊ बादललाई
बलिदानी !
फुर्न सिकाऊ भू–लाई हे !
इन्द्रेणी !