भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उत्सव / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सानोमा
आमाबाट दुध छुटायौ
ठूलोमा
जीवनभर जोतायौँ
जोत्न नसकेपछि
टाउकोमा दबासो हान्यौ
स्वाद मान्दै चोक्टा लुछ्याँै
हड्डी ताछेर बिँड बनायौ
सिङ भाँचेर ढोकामा सजायौ
छाला काढेर दमाहा बजायौ
बजाऊ, दमाहा बजाउ
प्वाल पर्यो भने टालेर बजाऊ
मेरो निरिहताको गोठमा उभिएर
आफ्नो पुरुषार्थको गाथाहरु युगयुग सुनाऊ

कहिले कोर्राको आवाज
कहिले दबासोको आवाज
कहिले दमाहाको आवाज
युगयुग गाइराख
मेरा अव्यक्त पीडाका गीतहरु
मेरा पराजयका पालमहरु
उत्तेजित थैलीभित्र वीर्यहरु उमारेर राख
रजस्वला नुहाएर सखारै
एकहुल आइमाइहरु मूलढोकामा
कामुकता बर्साइरहेछन् ।

परबाट कोही बीन बजाइरहेछ
एकहुल वस्तुहरु गोधुलीमा सन्ताप तापिरहेछन्
नदी किनारमा माझी ज्वारभाटासँग उन्मक्त नाचिरहेछ
एकहुल मान्छेहरु गोठमा उत्सव मनाइरहेछन्
निश्चिन्त उत्सव मनाऊ
गाऊ, नाच, दमाहा बजाऊ
उत्तेजित थैलीभित्र वीर्यहरु उमारेर राख
रजस्वला नुहाएर सखारै
एकहुल आइमाइहरु मूलढोकामा
कामुकता सजाइरहेछन्

के गर्ने
विधीको विधान यस्तै छ,
दमाहा बजाऊ
उत्सव मनाऊ
उन्मक्त नाच
कामदेवको पूजा गर
गोठ खाली हुन्न
किनभने यसपालीको बेतमा
मेरो जन्म तिम्रो कोखबाट हुनेछ ।