एउटा याचना : कविताको नाममा / निमेष निखिल
एउटा याचना लेख्दै छु आज
कविताको नाममा
निर्द्वन्द्व पोखिन देऊ कलिला घामका किरणहरूलाई
भित्ताभरिभरि/चौरभरिभरि
ताराहरूलाई अविराम चम्कन देऊ
छतभरिभरि/आँखाभरिभरि
कामना गरौँ–
अविच्छिन्न चलिरहोस् हुर्हुराउँदो बतास
र बढारिरहोस् मनका घरहरूमा थुप्रिएको कसिङ्गर
बेरोकटोक बर्सिरहोस् बादल र पखालिरहोस् मनभित्रको कालो प्रदेश
निरन्तर फुलिरहून् आस्थाका फूलहरू फूलबारीभरिभरि
र सुगन्धित भएरहोस् हाम्रो धरा
घाम लाग्नुलाई उज्यालो भविष्यप्रतिको आशावादिता भन्ठान्छु म
हावा चल्नुलाई जीवन सञ्चारको निरन्तरता सम्झन्छु म
पानी पर्नुलाई प्रेम र भ्रातृत्वको प्रवाह बुझ्छु म
र त म चाहन्छु–
घाम लागोस् र आत्मीयताको न्यानो छरिरहोस् बस्तीभरि
हावा चलोस् र जीवन सञ्चरित भइरहोस् बस्तीभरि
पानी परोस् र भ्रातृत्व प्रवाहित भइरहोस् बस्तीभरि
फूल फुलोस् र सुगन्ध फैलिरहोस् बस्तीभरि।
एउटा याचना लेख्दै छु आज कविताको नाममा
निर्द्वन्द्व पोखिन देऊ
कलिला घामका किरणहरूलाई
भित्ताभरिभरि/चौरभरिभरि
ताराहरूलाई अविराम चम्कन देऊ
छतभरिभरि/आखाँभरिभरि।