भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक धुपौरो रातो अङ्गार / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उफ्र
उफ्र
उफ्र
निद्रामा हिँड्ने सडकहरू थर्काउँदै
निदाएका खुट्टाहरू बिम्झिने गरी
उफ्र

हाम्रो साझा आकाङ्क्षा यो माटोमा
ठडिएको छ अग्लो मलिबाँसको लिङ्गो
धरतीले हात थापेर थान सजाएको छ
धुपौरोबाट तितेपातीको धुवाँ उठिरहेछ उँभो
ए भुइँफुट्टा जण्ड झाँक्री !
ढाँटलाई बकाउने आँटको गजोले ढ्याङ्ग्रो ठटाउँदै उफ्र
यति गर्नलाई
गुरूपूर्णेको तिथि पर्नुपर्छ भन्ने छैन
पूर्णेको जून त कैद छ धृतराष्ट्रको आँखामा
औंसी नहल्ली बसेको छ गान्धारीहरूको आँखामाथि कालो पट्टीमा

अब एक धुपौरो नयाँ सोचको रातो झरिलो अङ्गारमा
सुक्खा खोर्सानी डढाऊ
राँको बाल अनि
उफ्रिँदै नाच
नाच्दै उफ्र
धम् धम् धम्
धम् धम् धम्
पाताललोकको देउतालाई विवेक बेच्ने छौँडाहरू भागुन्
लट्टा परेको कालो झाँक्रो फिँजाएर भालेको डाक अघि नै
हाम्रो घरको गर्भ तुहाइदिने बोक्सीहरू भागुन्



कर्दले घुङरिङ खिपेर फुर्का फुर्का सपनाको
कलश भरेर हिमालको पानीले झरिलो तितेपातीसित
थान सजाउँछु
थानअघि बस्छु सङ्कल्पलाई पलेंटीमा कसेर
चारैतिरबाट कानमा थुर्रिन्छ जण्ड झाँक्रीको विद्रोही ढ्याङग्रो
डङ्कट डङ्कट डङ्कट डङ्...
म त्यै लयमा काँसे थाल बजाउँछु –
हे लेप्मुहाङ ! पारुहाङ ! महाकाल बाबा !
यो पहाडको शिर ढलेको छ
आजु उठ्ने बल गर्दैछ है
हे परमेस्सोर !
शिर उठाउने शक्ति देऊ यसलाई
डङ्कट डङ्कट ...ठ्याङ ठ्याङ ठ्याङ ...
धम् धम् धम्
धम् धम् धम्

झर्के थालमा सृष्टिको सङ्गीत बजाउँदै
म बिजुवा नाच्दै घुम्छु लिङ्गो वरिपरि
लिङ्गो र शिवलिङ्ग एकै देख्छु म बिजुवाको आँखाले
र देख्छु –
वीर्यहीन बुढो युग ढल्नै आँटेको
वीर्यवान हुनुको भायग्रा छलहरू छताछुल्ल पोखेर ...