भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ऐनाको छाल / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सधैं सधैं
मैले हेर्ने गरेको ऐनामा
अनायासै छालहरु उठ्छन्
— बौलाउँदै गरेका छालहरु !

छाल—
ऐनाको आकाशमाथि
मुस्कुराइरहेको जूनै छुन अकासिन्छ

छाल—
ऐनाको समुंद्रमुनि
अट्टाहास लगाइरहेको राक्षस-पींध छुन ओर्लन्छ

सधैं सधैं
यस्तो हुन्न थियो
मेरो कोठाको
निजी यो ऐनालाई

अत्तालिंदै
र, अचम्भित हुँदै

ऐना नै फुटाउने बिचार सोचिरहेछु !
ऐना नै फुटाउन खोज्दैछु !!

सधैं सधैं
मैले हेर्ने गरेको ऐनामा
अनायासै छालहरु उठ्छन्
— बौलाउँदै गरेका छालहरु !
— बिक्षिप्त छालहरु !!