ओ युगकी आमा / भीम दाहाल
एउटा हराइजाने भीड
मजेत्रोको फेरले फेर बाँधेर
माइबेनी मेला घुमेका यादहरू
जस्केलामा तिम्रा विद्रोही आँखाहरूको बाफझैँ देखिन्छ
ओ युगकी आमा ।
धेरै सिकुवाहरूबाट सुख सापट नपाएर
फर्किएको हुनुपर्छ तिम्रो दुःख
आङमा तिम्रो धेरै आँगनहरूको बास्ना आउँछ
केलाएको हुनुपर्छ तिमीले धेरै महाजनहरूको धान–चामल
तिम्रो पटुकाबाट बेलाबखत अझै कनिका झर्छ
ओ युगकी आमा ।
धेरै पल्ट गर्भपात भएका
तिम्रा अपूर्ण इच्छाका मलिन रेखाहरू
अलग्गै देखिन्छन् तिम्रा आँखामुन्तिर
थरथराइरहेका कलेटीभरि ओठहरूबाट
तिमी विद्रोहको आवाज उठाउन तयार छौ
ओ युगकी आमा ।
बर्सेनिजस्तै जन्मेका लालाबालालाई
चुसाएको हुनुपर्छ धेरै–धेरै सेतो रगत
तिम्रा शरीरका अनगिन्ती अथाह व्यथाबाट
धेरै मिहिनेतीहरू जन्मेको हुनुपर्छ
ओ युगकी आमा ।
नियालेर हेर्दछौ टाढा–टाढा
तिम्रो अझै पनि कुनै नयाँ सपना हुनुपर्छ
स्वप्निल, दर्द–प्लावित दृष्टिबाट
एउटा नयाँ युग त पर्खिरहेकी छैनौ ?
ओ युगकी आमा ।