कतिपय भूलहरु फूल भएर / सन्तोष थेबे
कतिपय यस्तै हुन्छन्
घाम, पानी, बतासले
तरुणी बन्दै गर्भिणी बनेका
लटरम्म नासपातीका बोटहरु
बैँस बिसाएर ओथरा बसेका कुखुराका माऊहरु
रजस्वलापछिको स्फूर्त स्नानहरु
प्रकृतिको गर्भमा
सायद कतिपय फूलहरु यसरी नै सुवासित हुन्छन्
पुषमाघको जाडोमा बन्दकोठा
बिस्तराको सिरक तात्न नपाउँदै
क्यालेण्डरका लामा दिनहरु गनेर
पसलेका लामा खाताहरु सम्झेर
भ्रमहरुको सानो आँखीझ्यालबाट
यी नयाँ–नयाँ बैँसालु मनहरु
आफैले गरेका बाचाबन्धन तोडेर
एक अँगालो माया नाप्न नपाउँदै
किन छातीमा अगुल्ठो ठोस्छन्
किन मर्द नामर्द हुन्छन्
किन स्त्री वेश्या हुन्छन्
कति विषाक्त छन् यी सिन्दुर र पोतेहरु
कति क्लिष्ट छन् यी चुम्बन र आलिङ्गनहरु
भाडाको कोठामा
भाडाको सहरमा
त्यो साँघुरो पलङको के दोष
प्रकृतिको गर्भमा
सायद कतिपय शुलहरु यसरी नै परिभाषित हुन्छन्
आज क्यालेण्डरको पाना पल्टिएको दिन
बिकार सब पुरिएको छ बाक्लो हुस्सूमा
आक्षेप पटाक्षेपहरु ‘वालेट’ मा बन्द छन्
यी नयाँ–नयाँ बैँसालु मनहरु
भ्रमको सानो आँखी झ्यालबाट
आत्मालोचना गर्दैछन्
फुटेका वाचा वन्धनहरु जोड्दैछन्
बन्दकोठामा
साँघुरो पलङ्माथिको सिरक अघि नै तातिसकेको छ
एउटा तातो जीवन सल्बलाइरहेछ अघिदेखि
एउटा मीठो आलाप गुञ्जिरहेछ परसम्म
झ्यालमा चीसो कठ्याङ्ग्रिएर जम्न सकेको छैन
बगिरहेछ, केवल बगिरहेछ
शायद प्रकृतिको गर्भमा
कतिपय भूलहरु यसरी नै
फुल्छन् फूल भएर ।