काफल पाक्यो ? / मनप्रसाद सुब्बा
एकाबिहानै
ओछ्यानमै सुन्छु
चराको सुरिलो – ‘काफल पाक्यो !’
ओहो ! काफल पाक्यो ?
काफलको तिलस्मी कथाले फेरि एकपल्ट लट्टिएको छु
तर काफल कस्तो हुन्छ थाह छैन
काफलको रूखै देखेको छुइनँ
अँ.. काफल पाक्यो गीत चैं सानैदेखि सुन्दैआएको ।
रूख चिन्नेहरु भन्छन् –
यताहुँदो काफलको रूख उहिल्यै मासियो रे
यो त कल्पवृक्षजस्तै दन्त्यकथा भइसक्यो रे
तैपनि त्यो चरालाई
आफ्नो प्राचीन पुर्खाको पालाको गीतबाहेक
अरु कुनै गीत आउँदैन
त्यसैले, त्यस्सै अर्थ न बर्थ
गाइरहन्छ त्यो यो नाङ्गो पाखामा –
‘काफल पाक्यो ! काफल पाक्यो !’
नस्ट्याल्जिक भएको हो कि त्यसले आफैलाई ढाँटेको हो ?
ओ लमार्क ! ओ डार्विन !
के त्यसको विकासक्रममा कुनै त्यस्तो मोड आउला
कि त्यसले आफ्नो गीतको भाका फेर्न सकोस् ?
तर यस बेला भने
त्यही गीतको धुनले
अनि काफलको तिलस्मीले
फेरि एकपल्ट मानिसहरू लट्टिएका छन् ।
हैन, यो लट्टिनुदेखि चैं
कहिले फुत्किनसकिने हँ ?