कायाकल्प / अभय श्रेष्ठ
(मणिपुरकी इरोम शर्मिलालाई जो फौजी
बर्बरताविरूद्ध गरिरहे की छन् सत्याग्रह )
मानवताविरूद्ध लडाइँले
अर्को मानवीय लडाइँ सुरु गर्छ
जसरी आतंकविरूद्ध आतंकले
सुरु गर्छ अर्को धारको व्रि्रोह ।
कुनै बादलमा चाँदीको घेरा नहुनु
र, त्यसैका लागि दुःखी हुनु
त्यसैका लागि
आत्माको हत्याहरूबीच आत्माको हत्याविरूद्ध
बम र गोलाबारुदबीच बम र गोलाबारुदविरूद्ध
निर्भयतापुर्वक उभिनु
आह, त्यो फूलजस्ती युवतीको साहस !
सुखी साहसका हिसाबले
एक्काइसौँ शताब्दीको सुरुवातको यो आठौँ आर्श्चर्य हो ।
देशको दुःखबाट कोसौँ टाढा रहेर
केही राजनायकहरू
हेरिरहेछन् पानीमा आफ्नो छायाँ
र, फसिरहेछन् आफ्नै छायाँको प्रेममा
प्रेममा फसेको मानिसलाई आफ्नो प्रेमभन्दा
सुन्दर कुरा संसारमा अरू हुँदैन ।
आफ्नै पाइताला छोएर बगिरहेको
रगतको नदीलाई बिर्सेर एक जोडा प्रेमी-प्रेमिका हराउँछन् एकार्काको छायाँमा
छुँदैन संसारको कुनै पनि दुःखले तिनीहरूलाई
संसारको सबैभन्दा सुख भेटेको मानिसलाई दुःखले छुँदैन ।
अत्तरको सुगन्ध नाभीमा च्यापेर
केही युवतीहरू टाँसिदिन्छन्
पारिजातको पुस्तकमाथि कुनै नवनायिकाको कामुक तस्बिर
हो, टाँसिदिन्छन् मदर टेरेसामाथि डायना
रोजा लक्जर्म्बर्गमाथि जेनिफर लोपेज
र, आन्ना आख्मातोभामाथि एलिसिया किजको कामुक तस्बिर ।
सहन नसकेर आफ्नै परिवारको असीम अपमान
एक बलात्कृत युवती गर्छे आत्महत्या
तर, विदेशबाट स्वर्ण पदक जितेर फर्केका खेलाडीझैँ
मुस्कुराउँदै, मुन्टो हल्लाउँदै हिँडिरहेछन् बलात्कारीहरू
तर, मौन छन् प्रहरीहरू
मौन- मौन छन् अखबारहरू ।
अन्धाको रङ्गजस्तो समयको पदचाप सुनिन्छ बारम्बार
तर, कानमा तेल हालेर मौन मुद्रामा छन् मानिसहरू
के त्यसो भए रोकिन्छ अब समयको गति –
हरियालीपर्ण यौवनको मीठासलाई चटक्क बिर्सेर
गलत सुख र असल दुःखबीच जब रोजी उसले असल दुःख
त्यहीँबाट सुरु हुनेछ मानिसहरूको असल सुखको बाटो
मृत्युको ताण्डवविरूद्ध
मृत्युसँग जुधिरहेकी ए फूलजस्ती युवती !
जहाँबाट सुरु गर्यौी तिमीले असल सुखको बाटो
त्यहीँबाट सुरु गर्नेछन् एक दिन मानिसहरूले आफ्नो अविरल यात्रा ।