काव्यपथका यात्रीहरू / निमेष निखिल
ढाकरमा अक्षर र शब्दहरूको भारी बोकेर
मनदेखि मनसम्मको यात्रामा
अविराम हिँडिरहन्छन
काव्यपथका यात्रीहरू।
काव्यपथका यात्रीहरूलाई फूल मन पर्छ–
मान्छेको गालामा चाउरीझैँ फुलेका फूलहरू
झरना मनपर्छ–
मान्छेआँखाबाट खस्ने हर्षाश्रुका झरनाहरू
यात्रीहरूलाई सौन्दर्य मन पर्छ
मुहारदेखि मनको क्षितिजसम्म विस्तारित अप्रतिम सौन्दर्य।
पोखिएर ढाकरबाट छाँटछाँटका शब्दहरू
अनुभूतिहरूको जुलुस निस्कन्छ
र बग्छ कलात्मक काव्यहरफहरूको नदी–
शुभ्र कागजी मैदानहरूमा
कमलो मन भएका भावुक मान्छेहरूको जमात
पौडन्छ र पौडिरहन्छ आनन्दातिरेकले
काव्यनदीको प्रवाहमा अनन्तअनन्तसम्म... ...।
काव्यपथका यात्रीहरू
आफैँ काव्यझैँ बग्छन् नदी भएर
र भिजाउँछन् असङ्ख्य धाँजा फाटेका मनहरू
हावामा वासन्ती सुगन्ध छर्दै
निर्बाध घुम्छन्/निर्बन्ध
र सञ्चरित गर्छन् जीवन
काव्यपथका यात्रीहरू ... ...।
खै किन हो?
बेलाबेलामा मैमत्त भुस्तिघ्रेहरूको एउटा जमात
नदीको प्रवाह बाँध्न खोज्छ
हावाको बहाव रोक्न खोज्छ
र बिथोल्न खोज्छ काव्यपथका यात्रीहरूको अनन्त यात्रा
थाहा छैन कहिले बुझ्छ ऊ–
ढाकरमा अक्षर र शब्दको भारी बोकेर
मनदेखि मनसम्मको यात्रामा
अविराम हिँडिरहन्छन
काव्यपथका यात्रीहरू।