भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खेतमाथि आक्रमण : केही भिडियो क्लिपिङ / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


माटोलाई माटोबाटै छुट्याउन
मेफिस्टोफिलिसका एजेन्टहरू आउँछन् ।
खेतको गर्भबाट जन्मेका खेतका सन्तानहरु
खेतआमा बचाउँन
खेतअघिल्तिर उभिन्छन् ।
ती खाकी एजेन्टहरूका मुखबाट एक्कासी
फुटिनिस्किन्छ नबुझिने शब्दहरु प ट ट ट ट..
अनि छिनभरमै
खेतको काख रगताम्य हुन्छ ।
रजस्वला होइन यो
तर रजस्वला सुकाइदिने यौटा अपरेसन ।


वर्षौँ वर्षमा एकपल्ट
सलहको बथान आउँछ,
हाम्रो फसल खाइदिन्छ अनि फर्किन्छ ।
तर यसपालि भने
खेतै खाइदिने मशिनहरू आए
अनि तिनीहरुले खेत खानुअघि
खेतालाहरु खाए ।


खेतमा यसपालि
तातो-रातो सिसाको असिना वर्षियो
त्यसैले माटो यस्तरी छटपटिरहेछ
कि धरती नै काम्दैछ थरथर ।


महानगरको यौटा ड्रविङरूमबाट चट्याङहरू हानिए
अनि उज्यालोको छाती वारपार रोपिएर
गाँवैं झ्वाप्प भयो ।
चट्याङ्मा परेर गोर्कीकी आमा पनि ढलिन् ।
उसकी बहिनीलाई
यौटा बन्दूकले बलात्कार गरेर
खेतकै एक छेउ हिलोमा दबाइदिएकोछ ।
गोर्की बटारिँदैछ दाँत किट्दै चिहानभित्र ।


खेतको मुखभित्र कन्ट्रसेप्टिव पिल्स कोचारेर
सम्भोग मात्र गरिरहन खोज्नेहरुलाई
रोक्न उठ्छन् खेतबाट माटोहरू
तर हठात् सुनिन्छ अर्कोतिरबाट मशिनको लहरे खोकी ठईं..ठईं..ठईं..
अनि माटोको रगतले खेत रात्तै हुन्छ
डाइ गरेको तिम्रो रातो रुमालभन्दा
धेरै धेरै रातो ।