खोरम्पा * / सुमन पोखरेल
मेला लागिरहेथ्यो कुहिराहरूको
त्यो डाँडा र त्यसको वरिपरि।
मैले बुझिनँ,
किन मेला लागेथ्यो त्यस ठाउँमा
घामका किरणहरूको ओत लागेर
ती कुहिराहरूको।
मैले सोधिनँ पनि कसैलाई,
किन चलिरहेछ हावा यसरी
कुहिरालाई खेद्दै।
बरु सोध्न मन लागेथ्यो
किन खोरम्पा त्यति अप्ठ्यारो भएर बन्यो,
तर सोधिनँ त्यो पनि।
त्यो अप्ठ्यारो ठाउँमा
त्यो विकट अवस्थितिमा
बस्ती किन बस्यो जीवनहरूको?
जहाँ यात्राको लागि निस्कन्छ जीवन
आफैँले थाह नपाएको लक्ष्य लिएर
र हिँडिरहन्छ अभावहरूले भरिपूर्ण भएर
कतै हुँदै नभएको गन्तव्यतिर।
अनि, अन्त्य हुन्छ थाहै नपाई कसैले
कहिले भीरबाट लडेर
कहिले खोलामा बगेर
कहिले ढुङ्गाले किचिएर।
मैले सोधिनँ,
किन सकिने गर्छ जीवन त्यसरी।
खोरम्पा
अद्यापि झुन्डिरहेछ बाँकी जीवनहरूको बस्ती बोकेर त्यही ठाउँमा।
कारण सोधिनँ मैले त्यो निरन्तर झुन्ड्याइको।
यसैले हुनसक्छ,
सायद,
सहज मृत्युभन्दा असहज जीवन नै जीवनमय हुन्छ।