भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँमाथि एउटा कविता / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सेताम्य कपाल फुलेकी बूढीका थोता दाँतहरु झैँ
टक्रक्क- यता एउटा
टक्रक्क- उता एउटा
र यदाकदा अङ्गुरका झुप्पाहरुकै भाँतिमा
धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर
एकै ठाउँमा गुजमुजिएका केही घरहरु छन्
घरभित्र-
अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका
केही मान्छेहरु छन्
समय, जहाँ घडीले हैन कुखुराको भालेले बताउने गर्छ
परदेश गएकाहरुको कुशल-मङ्गल
जहाँ अगेनामा नुन पड्काएर अन्दाज गर्न सकिन्छ
विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
र आङमा घाम लाग्ने/नलाग्ने कुराको ठेगान
बारीको उब्जाउ हेरेर यकिन गर्न सकिन्छ
यो, मेरो देशको सुदूर पूर्वको गाउँ !
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ !
छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन
गोठमा, बस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरु भएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिइरहन्छ-
आज जन्त जानुपर्छ- दलवीरेको बिहे छ
आज पर्म जानुपर्छ- घिसिङको छानो छाउनु छ
आज धामी बसाउनुपर्छ- हीरेको छोरो सिकिस्त छ
आज माइलीलाई नचाउनुपर्छ- भरे जात्रा छ
राम ! राम !! जिम्दार बूढाको प्राण गएछ
जहाँको चपरी त्यहीँको दुवाली- मरेर के लानु छ ...
एउटै इनार छ सम्पूर्ण गाउँमा
र पनि कसैले पानी पिउन नपाएको गुनासो छैन
मेलापात जानुपर्दा
काखको नानीलाई मजेत्रोले पिठ्यूँमा बाँधेर
निस्कन तयार छे जोकुनै पनि आमा
आफ्नै सन्तान पनि भार हुन सक्छ भन्ने उसलाई थाहा छैन
छ भने सबैलाई-
भकारो सोहोर्ने शैली थाहा छ
अनौ समात्ने तरिका थाहा छ
कोदालो अर्जाप्ने कुरा थाहा छ
बाली लगाउने र भित्र्याउने याम थाहा छ
भाकल चढाउने दिन थाहा छ
कुलो लगाउने पालो थाहा छ
न चुनावको रोक्छ यसलाई
न उत्सवले छेक्छ यसलाई
पट्याँस ! पट्याँस !!
नाङ्लो भएर यो अहिले पनि कनिका निफनिरहेकै छ
 
प्रिय सम्पादक !
फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
बमवर्षाका खबरहरु
बालिग मताधिकारका कुराहरु
साहित्यिक आन्दोलनका इतिहासहरु
अन्तरिक्ष यानका गतिविधिहरु
तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
तपाईंलाई नागरिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता यो गाउँ !
अहिले पनि यो
ढिकीच्याउँ ! ढिकीच्याउँ !!
सधैँ लङ्गडो खुट्टा उचालेर ढिकीमा उभिइरहेको छ
घुर्र ! घुर्र !!
अहिले पनि यो
जाँतोमा टाउको अड्याएर निदाइरहेकै छ
के गर्नु चुनावका घोषणापत्रहरु?
सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरुलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरु?
दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरुलाई