घर १६-१९ / केवलचन्द्र लामा
घर-१६
कसले थपिदिन्छ हँ स्वाद
घरको भुटुनमा?
कसले घोलिदिन्छ हँ मह
घरको रसमा?
पात झैं झर्छ
गीतको आँखाबाट
आँसुको फाल्सा।
झरिबस्छ पातजस्तै
घरको मुटु-कलेजोबाट
आँसुको फाल्सा।
घरले रहर हुर्काउनु थाक्दैन,
मरेकाटे थाक्दैन।
घरले सपना देख्नु छोड़्दैन,
ज्यान गए छोड़दैन।
कसले फुलाउँछ हँ ढकमक्क आशा
घरको रूखमा?
घर-१७
घरमा सपना पनि बस्छ।
एक कुनामा डल्लो परेर बसिरहन्छ।
उमेर निक्कै ढल्केपछि
घर छोड़ेर जान्छ।
घरको अघिल्लो खिर्कीबाट एउटा सपनाको ज्यान जान्छ।
घरको पछिल्लो दैलोबाट अर्को सपनाको प्राण जान्छ।
घरलाई फुल्साउन
सिँगारपटार गरेर
नयॉं सपना आउँछ।
घर-१८
बिखालु वर्खाका फौजले
छानुमा ढुङ्गामूढ़ा गरेकै छ।
चोटसरी खिर्कीको आँखामा
हुस्सेले पट्टी बॉंधिदिएको छ।
घरको पानीपेटभरि
पानीले पिटेका सुम्ला नै सुम्ला छन् ।
झरिको वायुसेनाले ताकी ताकी हान्दैछ घरलाई
सिरेटेको मिसाइल।
खोल्सामा खोलामा नदीमा बग्दैछ
घरको रङ्गपचेरा। दिशाहीन बग्दै गइरहेको छ
बाकसबाट उद्वार गरेर
कुन कान्छीआमाले हुर्काउँछ अब
घरको कर्णवहादुरलाई।
दैलो खोलेर बाहिर निस्केको छ घर
र नाघेको छ लक्ष्मणरेखा
लामेतॉंत ओइरिएका
झरिका व्याकुल सेनालाई
एक गिलास पानीको भिक्षा दिनु।
घर-१९
दॉंत नमोलेको हावाले
फुकेर निभाएको छ
देउताथानको दियो।
आँगनको रूखमा काग-कागहरू
धुमधाम बाझ्दैछन्
पटेका पड्काउँदै।
सिलिड़मा बिरालो ङ्यरङुर गर्दैछ
र भस्कँदैछ
परेवाका गुँड़हरू।
घरको आँगनमा हिड़दैछ
कुरूप भूइँचालो।
घरको टाउको ओखलीमा छ
र छन् पापी मनका
नानाभॉंतीका मुसलीहरू।
टेलिभिजन कराउँदैछ सहरभरि
सिरियल बम ब्लास्टका समाचार.
केटाकेटी र घरका बाबू घर फर्केकै छैन।