घर २९-३१ / केवलचन्द्र लामा
घर २९
घरको लागि
एउटै बाटो
दुइटा हुन्छ।
छातिमै च्यापिरहन्छ घरले
फर्कने बाटोको आशा।
मनमै टॉंसिराख्छ घरले।
जाने बाटोको नक्सा।
जाने बाटो नफर्कुञ्जेल
आउने बाटो नपुगुञ्जेल
घर गीत गाइरहन्छ।
घरले गीत गाउँछ
ओहोर-दोहोर गर्दा
नथाक्ने बाटोलाई धन्यवाद भन्नु।
घरले गीत गाउँछ
मन छाप्नु खोज्ने
भाषालाई धन्यवाद भन्नु।
घर सारङ्गी हो।
जति नै उकालो भए पनि जाने बाटो
जतिसुकै भिरालो भए पनि आउने बाटो
घरको सास बढ़्दैन।
.....घरले गाइरहन्छ।
संसारका दामी दामी गीतहरू।
घर-३०
नगरपालिकाको
मैला बोक्ने ट्रयाक्टरहरूको
काखी गह्नाउने हल्लाखल्लाले
तर्सेर उसको हातबाट
उज्यालोको रित्तो बोतल झरिफुट्छ।
घामको कानको जाली फुट्छ
हर एकाबिहानै।
एक कप्टेरो उज्यालो
खिर्कीबाट हाम फालेर
घरभित्र पस्छ।
कुनाकाप्चा रकरक गर्छ।
झगड़ालु भोल्युममा छिमेकी टिभी
चिच्याउँदै हुन्छ
क्रिकेट म्याचमा भारत हारेको समाचार।
फेरि एउटा बिहान हुन्छ घरमा ।
घर-३१
घरलाई हिंसा मन पर्दैन
घरमा फुलिरहन्छ हर समय
फक्रनुको सपना।
यो देशजति नै मुख्य
उ
त्यो पाठशाला हो
र चाहिने कुरो
जाड़ोमा ओढ्ने कोट हो।
-भनिरहन्छ घर।
घरको कविताले
रगतपच्छे शब्द टिप्नै मान्दैन।
झ्यालदेखि मनभित्रसम्म पस्ने उज्यालो
आकाशबाट चिप्लेर झर्छ र मर्छ
हिंसामा।
हिंसामा-घरले गीत भूल्छ
र एउटा आकाशसित
एउटा हावा मर्छ।
हिंसामा-कविताको घुंघुरू चुँड़िन्छ
र एउटा मनोभावसित
एउटा रस मर्छ।
घरले गीत गाइरहन्छ
- पृथ्वीको संङ्गीत डरलाग्दो हुँदैन
संसारको रङ्ग क्रुर हुँदैन।
घरले हिंसा मनै पराउँदैन।