घाम : आगमनको कामना / निमेष निखिल
अनकन्टार गुफाबाट निस्किएर पराई घाम
पछ्याउँदै मान्छेपाइलाका डोबहरू
बस्ती पस्छ
र विस्तीर्ण छरिन्छ–
चोटा, कोठा र आँगनभरि
बार्दली, मान्छे र मनभरि।
एक चौटा घाम
कविको कवितासँगै मिसिएर
रातो, सेतो, पहेँलो, नीलो... सबै रङमा रङ्गिन्छ
घाम संलाप बन्छ/विलाप बन्छ
कविले थाहै नपाई घाम कवितासँगै एकाकार हुन्छ
कविले चिन्दैनचिनेको घामले
उजेलिन्छ कविको कविता।
घाम मुस्कान बनेर
कलेटी ओठहरूमा रमाउँछ
घाम सान्त्वना बनेर
छियाछिया मनहरूमा चल्मलाउँछ
घाम कहर बनेर
मान्छेमाथि बजि्रएको देखेका छौ कहिल्यै?
सर्वे भवन्तु सुखिनः
घाम सधैँ सृष्टि र सिर्जनाका गीतहरू गाइरहन्छ।
केही काल भयो
हाम्रो आत्मीय घाम हराएको
बस्ती सुनसान छ/मान्छे उदास
क्रमशः संस्कारित भइरहेछन
एकपछि अर्का कुसंस्कारहरू
ए मान्छेहो!
तिमीहरूले हाम्रो घाम देख्यौ कि ?
भनिदेऊ हाम्रो आत्मीय घामलाई–
उसको पुनरागमनको बदलामा
जस्तोसुकै मूल्य चुकाउन तयार छौँ हामी
घाम आगमन कामनाको बिस्कुन सुकाएर
निराश्रित मनभरिभरि
कामना गरिरहेछैँ हामी
अनकन्टार गुफाबाट निस्कियोस् पराई घाम
पछ्याउँदै मान्छेपाइलाका डोब
बस्ती पसोस
र विस्तीर्ण छरियोस
चोटा, कोठा र आँगनभरि
बार्दली, मान्छे र मनभरि... ... ...।