भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनलाई भर कसको हो ? / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ?
केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ?
 
मदहोश बनाई मन चोरेर गयो कुनै हेराइ
मुहार-मुहार खोजिरहेँछु, त्यो नजर कसको हो ?
 
सयौँ पीर, हजारौँ बह, लाखौँ दुखाइको भीड छ
ठाउँ छैन मनमा, फिर्ता लग यो रहर कसको हो ?
 
आकाङ्क्षा नै राखिरहूँ वा तिमीलाई राखूँ मनमा
अन्योल भो' कसको हो ठाउँ, यो ठहर कसको हो ?
 
किन त्रसित आँखा तिम्रा, किन हेर्छ्यौ यताउता
दुनियाँ म जितिदिछु, तिमीलाई डर कसको हो ?
 
नचिनेको जस्तो गर्यौ, सबै बिर्स्यौ या केही सम्झिन्छ्यौ ?
मेरा ओठमा दाग छोड्ने, व्याकुल अधर कसको हो ?
 
आँसु बर्सिँदा बादलझैँ तिम्रा केश, जहाँ उड्दथे
याद छ वा भुलिसक्यौ, त्यो छातीको सगर कसको हो ?
 
भेद खुल्ला नलेखूँ भन्छ कलम मुटुको रगतले
मेरो हो वा फेरि उसैको ? यो कदर कसको हो ?

एक्लो झैँ थेँ, तिमी आयौ, गाउँहरूको बसाइँ आयो
न मेरो रह्यो न तिम्रो भो, यो शहर कसको हो ?
 
विश्वास नचुँडा सुमन ! नबुझ् कसले पठायो
पिइदे यो बिष नसोधी, यो कसर कसको हो ?