भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जुरेलीको गान / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


क.
के बोल्छे यो जुरेली ?
सगरभरभुवा आँसुका बान्किला छन्!
राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं
भङ्गिला छन् !
रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर !
चिर्छे एकान्तलाई पिउ पिउ स्वरले,
गीतले चित्त चोर !

ख.
सारा शब्दार्थ घोली अमृत–मथनले
विश्व–भाषा बनाई,
स्पन्दी, छन्दी, उछाली, सकल हृदयका्े
वेदनानन्दलाई,
कोपी खोलेर बोल्छे, सजल मृदुलता, सूक्ष्म बास्ना बहाई !
के, के, के, खल्बल्याई दिलदिल ! पृथिवी भावगोला तुल्याई !
 
ग.
बास्नाले फूल बोल्छन् यति, ज्वलनमा प्यास रङ्गीन वाणी !
यै हो गाना उडेका रुदित भ्रमरको, जिन्दगीको कहानी !
वाणी छोटी यही हो प्रकृति–पुरुषको ! गुन्जिदो यो जवानी !
यो हो थोपा, निचोर श्रुति, रस कविको प्यारको फूलदानी
 
घ.
पानीको कल्कलाई जलनिधितिरको यो दगुर्दो रुलाई !
यो हो बोली निशाको शशधरतिरको, शीतको पिल्पिलाई !
फिर फिर हो पुतलीको छवितिर, छविको पुतलिमा ढलाइृ !
माटाको भित्र बोल्दो बुलबुल मुटु हो, सम्झिदो स्वप्नलाई !
 
ङ.
छायालाई अँगाली छवि छ जलदृशी ! सम्झना शून्यलाई !
केही,काहीं भएको, तर सँग नहुँदा क्यै पिरल्दो मलाई !
‘आ ! आ !’ भन्दो झझल्को, अमिट कठिनता कल्पनाको छुआई !
छाया गाडा बिझेको, कणकण चसकी, खालि रुँ रुँ जिलाई !
 
च.
राम्री सृष्टि, प्रकृति अथवा खूवङ्गार पारी,श्रृङ्गार पारी
पर्खी, झुक्दै चलेकी, प्रियतम नमिली, दृष्टि मार्गभिसारी,
रुन्छे कोही थलामा मनमन गहिरो,आँसुको बाफ पारी,
भाषाभन्दा परैका ध्वनि त्यस दिलका गुँज्छ पन्छी, फिजारी !
 
छ.
रुन्छ रानी जवानी सब युग, थलका, धोइ एकान्तलाई !
माटो फोरेर आत्मा मुखरित छ, जिती पुष्पको वासलाई !
यो हो माधुर्य के को ? – पिउपिउ रसको, मृत्युमा अमृतलाई !
बोल्! बोल्! मिठो जुरेली ! म पनि सँग बगें अर्थ पारी, रमाई !
 
ज.
कोपी खोल्ने क्रिया हो जलकण भरिने कुँदनु यौटा कटौरा,
जो फुल्छन् फूल रुन्छन्, दिलभर जलका विन्दु झल्केर बौरा !
पन्छी यो, व्यक्त गर्दो कुसुम–हृदयको वेदनाको जवाफ,
दोटै आवान फाली, दुख सुख सुकला विश्वको चाल्छ साफ !
 
झ.
मोटोले स्पन्द पाई, किरणसँग जहाँ प्यारको भो प्रसूति,
भाषा खोज्दै उठयो त्यो तृण, कुसुम भई, गाउंदै अश्रुगीति,
पन्छी भै त्यो छचल्क्यो श्रवणविवरमा, वेदना बोल्छ साफ !
भाषा हो काल सारा बिउँझिनु दिलमा–दिव्य बक्सीस, श्राप !
 
ञ.
‘पी पी’ हो शब्द पैलो, अमुखर दिलको, जन्मिदा प्यास, पानी !
भाषा या प्यारको हो ! विधु गगनसिखा, भूचरी कल्पिंदा नि !
तान्छिन् शोभा निचोरी दिलउपरतिरै—बोल्न लागी जुरेली,
पृथ्वीको जन्मदेखिन् अझतक जति छन् बोल्दछे क्या पिरोली !
 
ट.
ऊषा रुन्थिन् पियासी, मखमल फुलमा अङ्ग गोरा बटारी,
स्वप्ना भारी पुकारी, उदयविरहिणी, स्वर्ग गुम्दी, विचारी,
रुन्थे सारा फुलेका कुसुम वनभरी, वाणपुत्री निहारी,
तैंले होला सिकेको विरहुसुर त्यहीं, बोल्न पन्छी पियारी !
 
ठ.
फुल्दा, सेता बदामी कुसुम झरझरी झार्दथे मिष्ट झोका
रोका आँशू खसाली बरबर उरमा, जूनले जल्पिएका,
राधा बन्दी कसैकी मनमन, वयसी दिव्य संयोगिताले
एकान्ती गुन्गुनीमा दृगजल उछलिन् बुल्बुली यै टुनाले !
 
ड.
जल्पीथिन् जानकीले मनमन सुर यी, रामजी कल्पिएर,
वंशी बज्थ्यो यसैमा टिरलिर यमुनाकूलमा कल्किएर !
हेलेन् होलिन् रुँदी यी दुखमय सुरमा, प्यारि पारी विषाद,
वर्षाई वेदनाका अति सुषम कणी,—युद्धका बाफ वाद !
 
ढ.
सोला हो, स्वादु सोला, अतिशय दुखको सौख्य यो हो पिरोला !
गोला, मीठो, अबोला, बहन दुध भए, प्राप्ति बैकुण्ठ होला
यो चोलाको सुनौला जलप, रस यही, धाम गौरी र भोला !
पी पी बोल् रे जुरेली  ! हृखय हृदयको बोल्छ संस–गारेला
 
ण.
यो कोपीको सुहानी जललव, रसको जिन्दगीबीच नानी !
यो तिर्खाको छ वाणी, प्रकृति–पुरुषको यो पुरानो कहानी !
यो हो दर्दी जवानी, प्रणय मुखरिंदो, गीतिकी रानी !
यो चूली हो हिमानी, शरण जगतको, भित्रको ढुक्ढुकानी !

त.
झुक्लिन् छाया अँध्यारी सघन गगनकी, वर्वरी वर्ष वर्ष !
झिल्केली है बिजूली, क्षण क्षण मनमा सम्झनाबाट पर्श !
थोपा झर्लान्, सिहर्ला्न् तरुवर, लतिका ! वायु बोक्ने छ बाफ !
चल्ला यस्तै जगत्‌मा ! हृदय पिरलिंदै आउलान्यै विलाप !
 
थ.
छाती, छाती पुकार्लान् ! जल, जलकणिका बैंसले बैंसलाई !
प्यासी बोल्लान्, छिचोल्लान् समय र पिंजरा, गीतमा बग्न पाई !
घाँसी बाला छहर्लिन् हृदयजल कहीं, चम्चमाई हँसिया !
उक्लेका क्वै, सुसेली नव–सपना,दिल श्री पुकार्दो घँसीया !
 
द.
बोल्! बोल्! बोली सुरीलौ, पिउ पिउ नित हे पिंजराकी जुरेली,
बोल्छन् यै वेदनवाणी–अतिसुषम उषातर्फ आत्मा पिरोली,
जूनेली ज्योति जेली हृदयभर यही, थोर संकेत खोली,
प्यासी बोलें म आफैं ‘पिउ’ अरथविना मृत्तिका क्यै छिचोली !