टोकियोमा एक दिन / रमेश क्षितिज
भोलि– म हुनेछैन तिम्रो सहरमा
फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास
सुस्तरी छोएर चेरीका फूलहरू
जसरी फर्किन्छन् लहरहरू समुद्रका किनारबाट
कि त्यसरी– जसरी फर्किन्छ साँझको पंक्षी आफ्नै गुँडमा
फर्किदा लिएर जानेछु म
नोभेम्बरका एक दर्जन दिनले बुनिएको
हस्तकलाजस्तो सम्झनाको सोभनियर
हार्दिकताको गुलाफी फूल र एउटा प्रेमगीत
अहिले– काँच फुटेको अनुभूति छ छातीमा
मानौं– बाँसुरीको धुनजस्तो आवाजमा भनिरहेछ कसैले
टाढा नेपथ्यबाट
सायोनारा.......... मेरी प्रिय सायोनारा...........
घर पुगेर पनि आधी त छुट्नेछु म यहींँ
माउन्ट फुजी वरिपरि, समुद्रको किनारमा
वा नारिता एअरपोर्टको छेउछाउ कतै
फर्केर जाने मैले लिएर जाऊँला जापानी आँखाको बिम्ब
सिंगापुरियन आँसु वा थाइ हाँसोको तस्बिर
मानिसहरूबीचको प्रेम नै हो स्वर्ग
जो म छुटेको हुँला यहाँ
त्यसलाई मायाले सम्हाल्नू– तिमीले मेरो मित्र !