भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ठूला हाकिमलाई / चन्द्रशेखर ताल्या / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वर्गाकार
ढुङ्गाको यो भवनमा
म छोडेर जाँदैछु
कुनै विशाल स्मारकको जस्तो मेरो मौनतालाई
जो कुनै बीजजसरी उम्रन्छ
कुनै कोपिलाजसरी फुल्दछ ।

त्यस ज्वालामा, जुन तिमीले सल्कायौ
तिम्रो अभद्र बोलीमा
तिम्रो आडम्बरी फाइलमा
तिम्रो उन्मादी घूसमा
केको बीऊ छर्‍यौँ तिमीले?
र के उब्जायौँ?

के सिक्यौ तिमीले
घाँसको त्यान्द्रो र
बिहानको शीतबाट?
मधुर झोँक्काले हृदयलाई सुमसुम्याउँदै बहेको बतासमा
रन्केको एउटा कोईला भयौ तिमी।

कुम्हालेको चक्रमा आकार लिएको माटो
छिनोको प्रहारबाट कुँदिइएको ढुङ्गो
आकाशमा उड्दाउड्दै चरो बनेको चल्लो
केही पनि चासोका विषय भएनन् तिम्रा लागि।

सीमाविहीन आकाशमा
दृष्य अदृष्य भइरहने
ताराहरूको चम्काइ र
आधा आँखा चिम्लिएको जूनले
छोएनन् तिम्रो हृदयलाई ।
आत्मतुष्टीका घिनलाग्दा लोभहरूमा
अधिकारको घमण्डमय हिँडाइमा
सजिएको तिम्रो यो दुषित शरीरलाई
एकैपल्टमा उडाउनेछ
मेरो सुस्केराले
मेरा आँखाको मौन ज्वालाले
मेरो दु:खी हृदयको गर्जनले ।

तिमी, जसले बुझ्न सकेनौ
चिहानमा गाडिएका राजगद्दीहरूलाई
चकनाचुर भएका युद्धकिल्लाहरूलाई
मौन भएका तरबारहरूलाई
के
मेरो अस्तित्व मेटाउन सक्छौ ?

हेर,
एउटा फूल हुनेछु म
आँपको बोटको एउटा गीत हुनेछु
बिहानको अप्रतीम सुन्दरता र
उदाउँदो घामको कञ्चन ऐनामा
ज्वाजल्यमान चम्किरहेको हुनेछु ।

सुशोभित भइरहनेछु म
चराहरूको स्वरमा,
अक्षरहरूको अमरत्वमा ।