भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तब म शान्ति पाउँला / दैवज्ञराज न्यौपाने
Kavita Kosh से
१.
जैले यो विश्वको महान् ज्योतिले
जगमग पार्ने वीरता छोडी
विशाल सूर्यले शीतलता लेला !
तब म शान्ति पाउँला।
२.
सरसता र उच्चताको आगार जो
धवल धीरताको दरवार त्यै
जब हिमाल भन्ने नाम नरहला !
तब म शान्ति पाउँला।
३.
जब धरणी र व्योमको बीचमा
गम्भीर यो समुद्रमा
एक थोपा पानी नरही
उष्णताको खाँडो जाग्ला !
तब म शान्ति पाउँला।
४.
यस संसारमा जब तेरो मेरो
बन्धुता र मोहनी डोरो
आदिलाई बस्नमा बास नरही
मेरो भन्ने कतै नाम नरहला
सबैसँगको नाता टुट्ला !
तब म शान्ति पाउँला।
५.
जैले यो वसुधाको सुन्दर देह
अग्निको पीत ज्वालामा
लय लीलाकी अतिथि बन्दै
प्रलय चितामा जल्ला
धूलाको एक कणसम्म बाँकी नरही
केवल खरानी मात्र बन्ला !
अनि सधैँको लागि
म शान्ति पाउँला।