भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी जसरी छ्यौ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कुनै नज्यूँदो जीवनको किनारमा उभिई
बहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलाई
अँगालो हालेर
बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने थिएँ,
आजसम्म अरूले अर्थ लगाइदिएकैलाई
शीतलता भनिरहेको हुने थिएँ,
गुलाब वा त्यस्तै कुनै हृदयविहीन फूलको सुगन्धबाटै
लठ्ठिइरहेको हुने थिएँ;
यदि तिम्रा अनुरागका कोमल आभासहरूले
मेरो हृदयका परागहरूमा
स्नेहिल सुगन्ध छर्दैनन् थिए भने ।

मेरा गीतका मूर्च्छना,
मेरा कविताका विम्बहरू,
मेरो जीवनकथा,
पात झरेका रुख-रुख चहारिहिँड्‍ने
खडेरीको हावाजस्तै सौन्दर्यविहीन
बिना गन्तव्य
पट्यारलाग्दो लठेब्रो दौडाइ कुदिरहेका हुने थिए ।
 
घामका किरण
प्रत्येक बिहान जीवन बोकेर
मेरा उमङ्गलाई उकास्न आउने थिएनन्,
मलाई गीत सुनाई उडिहिँड्‍ने चराहरूले
आफ्ना स्वरमा मनदेखिको प्रेम भरेर
गाउन जान्ने थिएनन् ।
 
तिम्रा कोमलतम् शब्दले समेत भाँचिन खोज्ने
प्रेमजत्तिकै कोमल मेरो मन चिमोटेर
नभत्काइदिँदी हौ बँचाइको लय कहिलेकाहीँ त,
प्रेमको आधा रहस्य बुझ्दै नबुझी
जीवन सङ्गीतमय भएको थाहै नपाई
जीवन भनी
रित्तो समय उक्लिएर उम्कने थिए
मेरा भोगाइहरू ।

आफ्ना आकाङ्‍क्षाका अनगिन्ती रङ्गीन छटाहरूले
जसरी सजाएकी छ्यौ
जीवनका मेरा दृश्यहरू,
त्यसो नहुनु हो भने,
सृष्टिका सौन्दर्यको भ्रमित व्याख्या गरेरै
ओइलाई झरिसक्ने थिए मेरा इच्छाहरू ।
 
मेरो जीवनका जुन धुनहरूमा
जसरी छ्यौ तिमी
त्यसो नहुनु हो भने,
सामर्थ्यले सम्पूर्ण भरिएर
हजार जीवन बाँच्ने रहर बोकी
उभिएको छ जो
तिम्रा सामु
त्यो म हुने थिएन ।