तिमीले बनाउँदै गरेको चित्र / रमेश क्षितिज
निलो रङ्ग
हल्लिरहेको कुची
त्यहींनेर वृद्ध अनुहारको पोट्रेटमा पोतिएको उज्यालो
बालकको ओठमा फुल्दै गरेको मुस्कानको कोपिला
वा क्यानभासमा लतपतिएको घाम
र टाँसिएका सपनाम्य आँखाहरू
म हेरिरहेछु
तिमीले बनाउँदै गरेको चित्र
चित्रमा छ
आँगनमा खेल्दै गरेको परेवाको जोडी
उडिरहेको बादलमुनि बसेर जीवनको कविता लेखिरहेको
कुनै स्वप्नदर्शी कवि
हतियार बिसाएर घर फर्केको लडाकु
क्यान्टोनमेन्टमा बेतको कुर्सी बुनिरहेको युवक
आधी खुलेको झ्याल जस्तो
केही देखिने केही नदेखिने
चित्रभित्र कति धेरै चित्रहरू तिम्रो चित्रमा
तिम्रो क्यानभासबाट उडेर जान्छ चित्रको पंक्षी
र मेरो कल्पनाको हाँगामा बस्छ
उसको चिर्बिर चिर्बिरमा सुनिन्छ
मन्दिरका घण्टीहरूको ध्वनि
अनि कल्याणको कामना
कुनै पुरातात्विक पाटी जस्तो संसारको
कलात्मक ढोकामा खोपिएर मुस्काइरहन्छ
बुद्धजस्तो एउटा शान्त मुद्रा
जीवनको कञ्चन नदी बगिरहन्छ
आँखामा सपना फक्रिरहन्छ