भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिहारको सम्झना : टाढाको बस्तीबाट / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निधारमा सप्तरङ्गी टीको
र, गलामा मखमली माला पहिरेर
मानौं सृष्टि जितेको उल्लासमा
मान्छेहरू सडकमा 'मार्च पास्ट' गरिरहेछन्
चच है ! चच है !!
आकाश छने हाँक बोलेर
मान्छेहरू झन्-झन् पिङका लट्ठाहरू फट्टाइरहेछन्
यो भाइटीकाको बिहान
दिदी-हातको टीको थापेर
बहिनी-हातको माला पहिरेर
हरेक दाजुले आफूलाई यमराज ठानिरहेको बेला
हरेक बहिनीले आफूलाई यमुना सोचिरहेको बेला
यो परदेशमा—
म आफ्नै बाँझो निधार छामेर कहालिएको छु
भन्छन्……
दिदी-हातको टीको थाप्नेसँग
आज त मृत्यु पनि डराउनुपर्छ
खै मेरो निधारमा टीको ?
खै मेरो वरिपरि तेलको छेको ?
लाग्दैछ --
'काल-कक्ष'मा आज म एक्लै असहाय उभिएको छु
उफ् ! कसरी काट्नु यो लामपुच्छ्रे दिन
र, भोलि उदाउने सूर्यलाई सलाम गर्नु ?
म, आज दिदी-टीकोबाट वञ्चित भएको छु
म, आज बहिनी-माला नपाएर ठगिएको छु
टीकोमा आफ्नो खुशी मुछ्न नपाएर
थाहा छैन- यतिन्जेलसम्म
बहिनी ।
तिमीले कति लहर आँसुहरू बगाइसक्यौ
भो । म अन्दाजले आँक्न सक्तिनँ तिम्रो विरहलाई
मालामा आफैलाई उन्न नपाएर
दिदी । यतिन्जेलसम्म
तिमीले कतिपल्ट तिलहरी भिजाइसक्यौ
मान्छे पनि त आखिर
आफ्नै मात्र ओथारो छोप्ने
कुखुराको स्वभाव रहेछ
चस्स ! चस्स !!
अहिले मलाई तिम्रो दूरत्व बिझाएको छ
खै कहाँ लगेर सेलाउनु यो छटपटीलाई ?
खै कता लगेर बिसाउनु यो विरहलाई ?
अहिले मलाई तिम्रो मायाको तिर्खा असाध्यै लागेको छ
म भन्दिनँ--
बगैंचा ढाकेर मगमगाइरहेका
सयपत्री फूलले तिमीलाई रुवाएन भनेर
म भन्दिनँ--
खुशीले रमाउँदै/नाच्दै आउने
भैलेनी हूलले तिमीलाई खिज्याएन भनेर

यो वर्ष यस्तै यो त के भो ?
समय फर्कन्छ भन्छन्
पर्ख । अर्को वर्ष
सँघारमा राखेर तिमी पनि ओखर फोरौली
बीचमा आफ्नो दाइलाई बसाएर
वरिपरि तिमी पनि तेलको छेको लगाउली
र, निधारमा इन्द्रेणी टीको लर्काएर
तिमी पनि भैली गाउन जाउली
दिदी । यो पटक तिम्रो भाइ
केवल सम्झनाभरि तिमीलाई सुमसुम्याएर बसेको छ
बहिनी । यो पटक तिम्रो दाइ
बाडुल्कीभरि सम्झनाहरू मात्र पठाउन समर्थ भएको छ !!