भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तीजको बयान / महानन्द सापकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आइपुग्यो तीज लौ ल्याउ चीज खाने र लाउने
नभए धन काढन रीन मरेर के लाने ?
चाहिन्छ दर घीउ र चीनी रेशमी फरिया
यसैले सारो हामीलाइ पायो कैजाका करीया ।
बिल्बिटको चोली नभए भोलि हुँदैन पटक्क
झम्के साल पनी चाहिन्छ अति परेको चटक्क ।
यो बात छोडी पुगेको खाई पुगेको लगाई
तीर्थ र बर्त गरन बैनी बहुतै रमाई ।
गर्नु छ भक्ति खोज्नु छ मुक्ति बढाउनु शक्ति छ
विकामे ढाँचा घमण्ड ज्यादा के गर्न चाहिन्छ ?
अविका ऋषि तपसी मुनि जङ्गल गएर
गर्दथे तप खपेर भोक शीतोष्ण सहेर ।
त्यो पो हो धर्म त्यो पो हो कर्म त्यो पो हो तपस
भरेर पेट लिएर बर्त के फल पाइन्छ ?
खाएर हुन्न लाएर हुन्न धर्म है बैनीहो
धर्म हो कर्म सत्य र निष्ठा पवित्र चित्तको ।
गहना लुगा लाएर ज्यादा शरीर सिंगारी
सन्तानलाई अब ता कोही नपार भिखारी ।
भित्रिया मन अंध्यारो पारी बाहिर सिंगारी
स्वर्गको सुख पाइन्न कुछ हुइन्छ संसारी ।
आहार विद्या सिंगार' विद्या विद्या हो अपार
विद्या निम्ती चढाउ झिटी लौ होउ तयार ।
यो कलिकाल , यसको छ हाल बहुतै जटिल
हिंड यो सोझो सजिलो बाटो लिएर अक्किल ।

मनलहरी-बाट, १९८४