भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तीन प्रश्न / बासवराज सबराद / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यस दिन,
ती मानिसलाई हेर्दै
जो मन्दिर बनाउनका लागि
अयोध्या जान लागेका थिए,
जहाँ केही पहिले
एउटा मस्जिद भत्काइएको थियो;
छोराले सोध्यो-
‘बुवा! के ईश्वर पनि
जाडाले काम्छन्?’

त्यसपछि
प्रलयकारी भूईँचालोमा घर र चुलो हराएका
किलारीका मानिसहरूको दृष्य, र
तीनका पीडा र दु:ख
आएथ्यो मेरा आँखाअगाडि ।

हिजो,
श्रावणबेलागोलामा
गोमतेश्वर<ref>गोमतेश्वर- बाहुबलिको एउटै ढुङ्गाबाट बनेको विशाल मूर्ति, जसको हरेक १३ वर्षमा अभिषेक समारोह हुने गर्छ</ref>को अभिषेक पश्चात्
छोराले सोध्यो-
“बुवा! किन
गोमतेश्वरले मोजा नलगाएका?”

त्यसपछि मैले सम्झेँ
हजारौँ बाल-गोमतेश्वरलाई
जो सडक र गल्लीहरूमा
बिनामोजा हिँडिरहेछन् ।

आज
जब बीच शहरको एउटा मन्दिरमा
बम पड्कियो,
छोराले सोध्यो-
“बुवा! ईश्वरलाई कसले मारेको हो?”

मलाई भनिदिनुस्,
के भन्नुपर्छ मैले, या
उत्तर के दिनुपर्छ?