त्यो प्रेम जो हामीले बाँच्यौं / मनप्रसाद सुब्बा
त्यो चोटको दुःखाइ जो थियो नि
ऐले छैन।
अब त्यस दुःखाइको फोसिल मात्र छ
र यो फोसिललाई जे गर्दा ‘नि हुन्छ।
खेलौना जस्तो खेलाउन पनि हुन्छ।
तिमी निर्धक्क बस।
एक समय
हामी प्रेममा थियौँ हगि?
तेत्ति / एक स्यानु
टुक्रा
स / म / य –को सिङ्गो प्रेमभरि
हामी प्रेमीप्रेमिका थियौँ ।
त्यो एक टुक्रा समय
आँखाको डिलबाट खसेर
क्षणिकताको भुइँमा खै कहाँ हरायो !
ऐले बुझ्छु –
त्यो नहुनुपर्ने नै चैं भएको होइन रहेछ ।
तिमीले
सँधैको सँधैपनलाई
एँडी भाँचिएको तिम्रो स्यान्डलसित फ्याँक्ने आँट गर्यौ ।
अचेल मलाई पनि त्यसको
दिगो रहिरहने सपनामाथि हाँसो उठेर आउँछ।
हामी त सँधै थुप्रै सँधैहरू बाँच्दारहेछौं नि !
टुक्रा / टुक्रा / सँ / धै / हरू !!
हामीले प्रेम बाँचेको त्यो यौटा क्षण नै सत्य हो
जो हाम्रो चेतनाको चेपमा बसिरहन्छ।
बरू हाम्रा वाचाहरू
निदाएर देखिएका सपनाहरु थिए।
त्यो यौटा क्षण
जसभित्र तिमी र म एकै अँगालो अँटाएका थियौँ ।
अनिश्चितताको हिलोमा
म एक एक क्षणको पाइला पाइला ढुङ्गा टेक्दै हिँड्छु।
म क्षण बाँच्छु।
क्षण !