भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दशैं / राधेश्याम लेकाली

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दशैंमा नयाँ लुगा र जुत्ता होइन
गह्रँगो ‘रिन’ किन्छ र बोक्छ मान्छे
दशैंमा भोज होइन
रिनै रिन खान्छ मान्छे

शक्ति र सामथ्र्यको प्रदर्शन यसरी गर्छ कि
अन्त्यमा यसैले थिचिएर थला पर्छ मान्छे
साहु कहाँ उज्यालो बन्धकी राख्दै
आफू पनि सजिन्छ, र
परिवार र घर पनि सजाँउछ मान्छे ।

महँगीले किचिएर पहेंलिँदै
रून्चे हाँसो हाँस्दै
टिका र जमरामा रमाउन खोज्छ मान्छे
सिर्जनालाई थाती राखेर
चौका र छक्कामा आनन्द मान्छ मान्छे ।

दशैंमा गमक्क पर्ने मान्छे
दशैंमा गर्व गर्ने र ध्वाँस जमाउने मान्छे
दशैंमा ढोङ रच्दै सम्पन्नता प्रदर्शन गर्ने मान्छे
दशैं सकिदा जमरा ओइलाएझै ओइलाउँछ
र दशैंमा दशैं नआएर दशा आउँदो रहेछ भन्ने चाल पाउँछ मान्छे ।