भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिनका तीन स्थिति : मेरो अनुभवमा / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


गुँड-गुँडका चरा बिच्काउँदै
आँखा-आँखको नीद उडाउँदै
भर्खर बैँस चढेको ठिटी जस्तै
भित्ताका प्वाल-प्वालबाट चियाउन
आइपुग्छ सधैँ एउटा उत्ताउलो बिहान ।

बितेको बैँस सम्झेर - आउँदो बुढ्यौलीलाई पर्खेर
आउने-जानेको मुख चहार्न बानी लागेको
तीस-पैँतीसको विधवा जस्तै
पट्टाइलाग्दो साँधमा पुगिसकेको
थप्लामा एउटा सूर्यको भारी
खपिनसक्नु हुन्छ यो मध्याह्न ।

उज्यालोसित छलिँदै-छलिँदै
आँखा-आँखासँग वास माग्दै
रात आउँछ मकहाँ प्रेयसी बनेर
छातीभरि उखर्माउलो थपी
केही पीर दिँदै - केही पीर लिँदै
रात जान्छ मबाट सधैँ
एकै अँगालो नीद वास बसेर ।