भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिलमाया / श्यामल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो सपना खोसेर राखिएको छ
थिम्पूको अँध्यारो जेलमा
सर, म त्यसै फर्कनेछैन भुटान।

म सम्झन्छु आफू रोएको बाल्यकाल
तर जति म रोएँ
मेरो सात क्लासको किताब
च्यातिएको दिन रोएँ
त्यही दिन म जति रोएँ रोइसकेँ
जुन दिन पसे सिपाहीहरु हाम्रो घरमा
र उफ्रन थाले
मेरी आमाको शरीरमाथि
मसँग अब छैन रुनलाई आँसुको मुहान
सर, अब रुन आउँदैन
म बेस्सरी रोइसकेँ।

म हाँस्थेँ पनि कहिलेकाहीँ
जब चुट्किला सुनाउँथे हाम्रा बाबा
एक दिन, कुनै एक दिन
मुसा फुत्केर भाग्यो बिरालोको पन्जाबाट
र दुलाको मुखैनेर रुँगेर बस्यो बिरालो
म बेस्सरी हाँसेकी थिएँ।

हँसाउन सिपालु थिए देवीलाल सर
त ती बाबा छन् न चुट्किला
न बिरालो छ न देवीलाल सर
हाँस्नुजति हाँसिसकेँ म
अब हाँस्न आउदैन मलाई
सर, मैले त हाँसो साम्चीमै छाडिसकेँ।

सर, यौटा केटो थियो उहीँ
लुकि–लुकि हे¥थ्यो मतिर
नहेरुँ भन्दाभन्दै अनायास
आँखा गइहाल्थे उसतिर
यसैलाई भनिन्छ भने प्रेम
प्रेम पनि छैन मसित
त्यसलाई पनि मारिसके शासकहरुले।

कन्काईको बगरमा छु म
र सब थोक छाडेर आएकी छु यो ज्यानबाहेक
फेरि किन सोध्नुहुन्छ भुटान जाने–नजाने कुरा?
मैले मेरो सपना फर्काउनु छ
मैले मेरो आँसु फर्काउनु छ
मैले मेरो हाँसो फर्काउनु छ
मैले मेरो प्रेम फर्काउनु छ
मैले मेरो किताब फर्काउनु छ
थुनेर राखिएको मेरो सर्वस्व फर्काउनु छ
सर, म त्यसै फर्किने छैन भुटान।