भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दुर्घटना / विप्लव प्रतीक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सडकको बीचमा
एउटा दुर्घटना भएको छ ।
केही छिनअघि नानाथरीका
झ्न्झ्टले जेलिएको त्यो मान्छे
अब बन्धनमुक्त भएको छ,
सडकको बीचमा एउटा दुर्घटना भएको छ ।

यता, जिन्दगीमा कति यस्ता कान र आँखा छन्
जो केही सुन्दैनन्, जो केही देख्दैनन्
कति यस्ता मुटु र मगज छन् जो केही अनुभूत गर्दैनन्
यिनीहरूमध्ये कति त मान्छेसरह बाँचिरहेकै छन्,
र हामीहरू पनि यिनीहरूमध्येबाट नै बाँच्तछौँ ।

वास्तवमा हामीहरू पनि दुर्घटनामै परेका हौँ
म त भन्छु विशाल दुर्घटनाका सिकार हौँ हामीहरू
त्यो सडकबीचको दुर्घटना त एउटा मिथ्या हो ।
र यो जिन्दगीको, अहिले हरेक मान्छेले भोगिरहेको दुर्घटना
शाश्वत हो
उफ ! यो कस्तो दुर्घटना ?
यो कस्तो जिन्दगी ?
यो कस्तो शाश्वत ?
यो कस्तो मिथ्या ?

सडकबीच एउटा दुर्घटना भएको छ
र पछारिएका हामी छौँ
धूलोमा मुछिएर सडकमा रगतपछ्य ।