नयाँ अदालत / कुन्दन शर्मा
ए। मानवअधिकारका कुरा गरेर नथाकेकाहरू
पहिले त यहाँ कुनै अदालत सड़ा गर
जन्मको मुद्दा हेर्न
किनकि प्रत्येक नयाँ जन्ममा
कसैको अनधिकार हस्तक्षेप हुन्छ
कसैको जीवनसित
मलाई उजुर गर्नु छ
मेरो अस्तित्व लुट्नेहरूविरुद्ध ।
कस्तो विचित्र सृष्टि यो !
मेरो जन्ममा
मेरो इच्छा सोधिँदैन
मेरो जीवनमा
मेरो अधिकार बुझिँदैन
मेरो मृत्युमा
मेरो मर्जी चल्दैन ।
हामी नाम मात्रका मालिक छौँ आफ्ना
हामी भन्न मात्र मुक्त छौं यहाँ
तापनि मृगतृष्णा
मुक्तिकै कामनामा
बाँचेको छ म सदा
मुक्तिकै सङ्घर्षमा
मरेको हुन्छ म सदा ।
तर यथार्थ यही रहेछ
आमाको गर्भ
मेरो झ्यालखाना थियो
पिताको वीर्य
मेरो सजाय
तर मेरो अपराध केही थिएन ।
मेरो जन्ममा
मेरो हात थिएन ।
यो जीवनसितको
मनपरी खेलबाड अरूको
जीवन कसैको
दान कसैको ।
त्यसैले जबसम्म अस्तित्व पुग्दैन
स्वेच्छा जन्म र मृत्युको शक्तिमा
असहाय प्राणको रक्षा गर्न
कुनै अदालत खडा गर
र दण्ड दिने व्यवस्था मिलाऊ
जथाभाबी जन्म दिनेहरूलाई
किनकि जन्मेर हैन
बाँचेर हैन, न त मरेर नै
मैले कुनै पाप गरें
अपराध, मलाई जन्माउनेले पो गरे
म त फगत
अरूको कर्मको फल भोगिरहेछु
म यहाँ आफ्नै जीवन
अरूको इच्छामा
जन्मेको छु- बाँचेको छु
बाँचेको छु- मरेको छु ।